६ प्रदेश र ६१ जिल्लामा कांग्रेस अधिबेशन सम्पन्न, अझै बांकी छन् यी जिल्ला



महाधिवेशनअन्तर्गत कांग्रेसले छ प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ । प्रदेश अधिवेशनबाट प्रदेश कार्य समितिसहित सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णाली प्रदेश सभपातिमा ललितजङ्ग शाही, लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन, गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा, वाग्मती प्रदेश सभापतिमा इन्द्र बानियाँ र प्रदेश नं १ को सभापतिमा उद्धव थापा निर्वाचित हुनुभएको छ । कांगे्रसको प्रदेश नं २ को प्रदेश अधिवेशनको उद्घाटन भएपनि नेतृत्व चयनका लागि निर्वाचन हुन बाँकी छ ।

१४औँ महाधिवेशनअन्तर्गत हालसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको भने १६ जिल्लाको अधिवेशन हुन बाँकी रहेको गरेको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।

सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपुर ९बर्दघाट सुस्ता पुर्व०, बाँके, अछाम, कैलाली, तथा प्रदेश नं २ का आठ जिल्लाहरु सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ ।

यसबाहेक कांग्रेसले सबै जिल्लाका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ । गत भदौ १८ गतेदेखि अधिवेशन प्रक्रिया आरम्भ गरेको पार्टीले यसअघि नै देशभरका सबै वडा र पालिकामा पार्टीको अधिवेशन सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्