राप्रपा अध्यक्ष लिङ्देनले गरे कसैलाई धोका नदिने र मानमर्दन नगर्ने प्रण



काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूको मानमर्दन गर्न र कार्यकर्ताहरूको विश्वासघात गर्न आफू नेतृत्वमा नआएको बताउनुभएको छ । नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टीका निवर्तमान अध्यक्षहरूको जीवनकालमै आफ्नो पार्टीलाई देशको बलियो शक्तिको रूपमा स्थापित गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

आज आइतवार काठमाण्डौमा शपथ ग्रहण गर्दै उहाँले दुई पटक मृत्युको मुखमा पुगेर पनि बाँचेको आफूले नेताको सम्मान र कार्यकर्ताहरूको भावनामाथि चोट नपुर्‍याइ आफ्नो पार्टीलाई बलियो बनाउने बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले यो मरो पनि बदमास रहेछ भन्ने नपार्ने दृढतासमेत व्यक्त गर्नुभयो । उहाँले अनुभवी नेताहरूको साथ लिएर पार्टीमा गल्ती नगर्ने बताउनुभयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘राजेन्द्र लिङ्देनले पार्टी चलाउन सक्छ भन्ने आशङ्का छ । पार्टीमा म मात्रै कहाँ छु रु मैले भने हाम्रो श्रद्धेय तीन नेताहरू हुनुहुन्छ अनि हाम्रा पदाधिकारीहरू हुनुहुन्छ । मैले दाइ मानेका अनुभवी मानिसहरू हुनुहुन्छ । उहाँहरूको साथ लिएर अघि बढ्छौँ । कहीँ पनि त्रुटि गर्दैनौँ । म आत्मविश्वासी छु । म गल्ती गर्दिनँ, धोका दिन्नँ । कसैलाई थुक्क यो मेरो पनि बदमासै रहेछ भन्ने पार्दिनँ भन्ने मेरो मनमा लाग्छ । नेताहरूको मानमर्दन गर्न र कार्यकर्ताको विश्वासमाथि कुठाराघात गर्न म नेतृत्वमा आएको होइन । मलाई विश्वास छ– हामी सबै मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तपाईँहरूको जीवनकालमै यो देशको बलियो शक्ति भएको देखाउँछौँ । त्यो विश्वासका साथ हामी काम गर्छौँ ।’

नवनिर्वाचित अध्यक्ष लिङ्देनले कांग्रेस र एमालेलाई पनि जोडेर आफूहरूले राप्रपालाई देशको अग्रणी पार्टीको रूपमा अघि बढाउने बताउनुभयो । उहाँले अब पार्टीभित्र कुनै पनि गुट नभएको दाबीसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्