कांग्रेस प्रदेश १ सभापतिका लागि संस्थापनबाट थापा र संस्थापनइतर समूहबाट घिमिरे भिड्दै
बिराटनगर ।नेपाली कांग्रेस प्रदेश १ सभापतिका लागि संस्थापनइतर समूहबाट गुरुराज घिमिरे र संस्थापन समूहबाट उद्धव थापाले प्रतिस्पर्धा गर्ने भएका छन्।

विराटनगरमा बिहीबार संस्थापनइतरका नेताले केन्द्रीय सदस्यसमेत रहेका घिमिरेको नाममा सहमति बनाएका हुन्। केन्द्रीय सदस्य महेश आचार्यको निवासमा मीनेन्द्र रिजाल, डा। शेखर कोइराला, सुजाता कोइरालालगायतको बैठकले घिमिरेको नाममा संयुक्त सहमति बनाएका हुन्।
संस्थापन पक्षसँगै उभिएका कृष्णप्रसाद सिटौलाको संयुक्त उम्मेदवारका रूपमा झापाका उद्धव थापा देखिएका छन्। थापाले चुनावी वातावरण बनाउँदै कांग्रेसलाई बदलिँदो परिवेशमा अझ सशक्त बनाउन भूमिका खेल्नेमा जोड दिएका छन्।
अधिवेशनको उद्घाटन पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डिजिटल माध्यमबाट गर्ने तय भएको छ। यद्यपि, शनिबार बिहानबाट सुरु हुने निर्वाचन प्रक्रियाका लागि प्रदेशभरबाट १ हजार ७ सय प्रतिनिधिले सहभागिता जनाउनेछन्। निर्वाचनमा भ्रातृ संगठनबाट १३ र शुभेच्छुक संस्थाबाट १७ जनाले सहभागिता जनाउन पाउनेछन्।
प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सह–महामन्त्री एक महिलासहित, हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खस आर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेसी महिला १ र खुला १, दलित महिला १ र खुला २, थारुतर्फ महिला १ र खुला १, मुस्लिममा खुला १, अल्पसंख्यक र अपांगमा १ सदस्य पदका लागि निर्वाचित हुनेछन्।

