एमाले बन्दसत्र १० बजे सुरु हुने,रावल पछि नहटे हलमै हात उठाएर मत गणना गर्ने तयारी
चितवन। नेकपा एमालेको चितवनमा जारी १० औं महाधिवेशन अन्तर्गत दोश्रो दिनको बन्दसत्र १० बजे सुरु गरिने भएको छ। सर्वसम्मत नेतृत्व चयनका लागि महाधिवेशनको बन्दसत्रको हलले अध्यक्ष मण्डलका संयोजक केपी शर्मा ओलीलाई अधिकार प्रदान गरेको छ। त्यसै अनुसार ओलीले आवश्यक तयारी गरिरहेका छन्।

तर, नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। उनले आफूले उम्मेदवारीबाट पछि नहटने बताइरहेका बेला सर्वसम्मत गर्ने ओलीको चाहनामा समस्या भइरहेको छ।
रावलले अध्यक्षमा उम्मेदवारी दिने निर्णयबाट पछि नहटे निर्वाचन त गर्नुपर्ला नि भन्ने प्रश्नमा एमाले कार्यालय सचिव शेरबहादुर तामाङ भने अध्यक्षको चुनाव हलमै हात उठाएर गर्ने तयारी भइरहेको बताउँछन्।
‘सहमतिका लागि नेताहरु छलफलमा हुनुहुन्छ। रावल जी सहमत भए उपाध्यक्ष बस्नु हुन्छ,’ उनले भने, ‘बस्नु हुन्न अध्यक्षमै लड्छु भन्नुभयो भने हलमा ५ मिनेटमै अध्यक्षको भोटिङ हुन्छ।’ हात उठाएर हलमै गणना हुने र त्यो विधि र कानून अनुसार नै हुने उनले बताए।

