यसरी गरिंदैछ कांग्रेस महाधिवेशनका लागि तीब्र तयारी
नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन तयारी मूल समितिले आफ्नो गृहकार्यलाई तीव्र बनाएको छ ।

महाधिवेशन आउन १२ दिनमात्रै बाँकी रहँदा महाधिवेशनका लागि गठित समितिले आफ्नो तयारीलाई उच्चस्तरमा अगाडि बढाएको हो ।
महाधिवेशन मंसिर २४–२६ गतेसम्म काठमाडौंमा गर्नका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको संयोजकत्वमा गठित महाधिवेशन तयारी मूल समितिले उपसमितिहरूसँगको समन्वयमा महाधिवेशनको तयारी तीव्र बनाएको हो ।
गृहमन्त्री तथा महाधिवेशन तयारी मूल समितिका सदस्य बालकृष्ण खाणले महाधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टीपंक्ति खटिएको जानकारी दिए ।
उनले भने, ‘कांग्रेसका लागि यो एउटा उत्सव हो । देशभर १६५ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि आउनुहुन्छ । उहाँहरूको भोजन तथा आवासको व्यवस्थापन आयोजक समितिले गर्छ । यसका लागि सबै तयारी भइरहेको छ ।’
खाँणले महाधिवेशन प्रतिनिधिसँगै ७७ वटै जिल्लाबाट आउने पार्टी कार्यकर्ताको चापलाई व्यवस्थापन गर्न र आवश्यकताअनुसार सबै पूर्वाधार तयार गर्नकै लागि उपसमिति गठन गरिएको उल्लेख गरे । उनले भने, ‘सम्बन्धित उपसमितिले आवश्यक तयारी शुरू गरिसकेका छन् ।’
महाधिवेशन तयारी मूल समितिले कोरोना प्रकोपलाई दृष्टिगत गरी सुरक्षा मापदण्ड पालना गर्ने तयारी गरिरहेको छ । गृहमन्त्री खाँणले भने, ‘भीड जम्मा गर्न हुन्न । कुनै कार्यक्रममा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्छ । त्यसैले आमन्त्रित र पार्टी कार्यकर्तालाई उत्साहित बनाउन प्रेरित गर्ने गरी सन्तुलन कायम गरिने छ ।’
कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले महाधिवेशनका क्रममा सर्वसाधारणलाई हुनसक्ने असुविधालाई ध्यान दिइने बताए । महाधिवेशनका गतिविधिलाई व्यवस्थित रूपमा सम्प्रेषण गर्नेदेखि कार्यक्रम आयोजना हुने स्थान चुस्त बनाउनका लागि उपसमितिमार्फत काम भइरहेको उनले बताए । केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले महाधिवेशन उद्घाटनपूर्व र महाधिवेशन पूर्ण रूपमा सम्पन्न नभएसम्मका गतिविधिलाई व्यवस्थित गर्न मूल समितिको ध्यान केन्द्रित भएको बताए ।
विश्वकर्माले भने, ‘महाधिवेशन सफल पार्न मूल समितिसँगै विषयगत उपसमितिहरू गठन गरिएको छ, मूल समितिले महाधिवेशनको निर्धारित अवधिभर ती उपसमितिसँग समन्वय गर्छ, आमन्त्रित विदेशी पाहुनाको स्वागत सत्कारमा उपसमितिसँगै मूल समितिसमेत सक्रिय हुन्छ । अर्थ समितिलाई पनि मूल समितिले हेर्छ । पार्टी सभापतिले अर्थ समितिसँग समन्वय गरिरहनुभएको छ ।’
यसैबीच, कांग्रेसको महाधिवेशनका लागि गठित प्रचारप्रसार समितिले पूर्णता पाएको छ । कांग्रेस प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित समितिले शनिबार पूर्णता पाएको हो । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार केन्द्रीय कार्यसमितिका सदस्य जीवन परियार, किरण यादव, किरण गिरी र अभिषेकप्रताप शाह, आमन्त्रित केन्द्रीय सदस्यहरू जनकराज कलौनी र दिलीप राईले समितिको सदस्यको जिम्मेवारी पाएका छन् । गोरखापत्रमा खबर छ ।

