लिंङदेन र राणा बढे अगाडी, तीन अध्यक्षलाई अभिभावकीय भूमिकामा बस्न आग्रह
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को आशन्न महाधिवेशनमा राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।

पार्टीका तीन अध्यक्ष पशुपतिशम्सेर जबरा,डा।प्रकाशचन्द्र लोहनी र कमल थापालाई चुनौती दिंदै लिङ्देनले औपचारिक रूपमा बिहिवार उम्मेदवारी घोषणा गरेका हुन।उम्मेदवारी घोषणाका लागि आयोजित कार्यक्रममा लिङ्देनले तीनै जना नेतालाई अभिभाकीय भूमिकामा बसेर कार्यकर्ताहरुको भविष्य सुरक्षित गर्न आग्रह समेत गरे।
गत संघीय निर्वाचनमा राप्रपाको तर्फबाट प्रतिनिधिसभामा सदस्यमा बिजयी एक मात्र सांसद लिङ्देनले राप्रपाले उठाउँदै आएको राजतन्त्र पुनःस्थापना र हिन्दुराष्ट्र स्थापनाको मुद्दाका लागि पनि आफूले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए ।
पार्टीलाई बचाउनका लागि उम्मेदवारी दिएको बताउंदै उनले भने, ‘कि राप्रपाको समाप्ति रोज्नुपर्ने कि बाध्यात्मक रूपमा अगाडि बढ्नुपर्ने विकल्पमध्ये दोस्रो विकल्प रोज्नुपरेको हो।’ राजेन्द्र लिङ्देनहरूले यो कदम नउठाउने हो भने राप्रपा समाप्त हुन्छ । उहाँहरू ९कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी०को पनि समाप्त हुन्छ । अनि कहाँको राजसंस्थाको पुनःस्थापना कहाँको हिन्दुराष्ट्र ?
राप्रपा महामन्त्रीमा धवलशम्शेर राणाले उम्मेदवारी दिने घोषणा गर्दै लिङ्देनले आफूहरूले राप्रपामा विद्रोह पनि नगरेको र अध्यक्षत्रयविरुद्ध पनि नउभिएको बताए । ‘न यो विद्रोह हो न यो तपाईंहरू विरुद्धको उम्मेदवारी हो । राप्रपाको भविष्यलाई सुनिश्चित गर्नका लागि हो । हाम्रो यो कदमले राप्रपालाई अप्ठ्यारो पार्दैन । बलियो बनाउँछ, सुदृढ बनाउँछ । ‘

