राष्ट्रिय जनगणना औपचारिक रूपमा सम्पन्न



काठमाण्डौ।गएको कात्तिक २५ गतेदेखि सुरु भएको राष्ट्रिय जनगणना आज बिहीवारदेखि औपचारिक रूपमा सकिएको छ ।

आजसम्म पनि गणनामा विशेष कारणले सहभागी हुन नपाएकाहरूको भने भोलि शुक्रवार पनि गणना गरिने तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । तर भोलि गणना भए पनि आजसम्मकै तथ्याङ्कलाई आधार मानिने उहाँको भनाइ छ ।

भोलि गणना गर्दा भोलि नै कसैको परिवारमा कोही जन्मिएका, मृत्यु भएका भए पनि आजसम्मकै तथ्याङ्क लिइने उहाँले बताउनुभयो । भोलिसम्ममा सबै गनेर सकिने उहाँले दाबी गर्नुभयो ।

विशेष कारणवश गणनामा सहभागी हुन नपाएको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन सकिने छ । गएको २५ गतेदेखि गणकहरू नागरिकका घरदैलामा पुगिरहेका छन् । जनगणनाका लागि देशभर आठ हजार पाँच सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन् । एक गणकले एउटा परिवारसँग २० मिनेटमा प्रश्नावली सोध्ने गरी औसत समयसमेत तय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्