राप्रपा अध्यक्ष राणा भन्छन्- ‘राष्ट्रप्रमुखको रुपमा राजसंस्था हुनुपर्छ’



बनेपा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले राष्ट्रपतिले पार्टीको एउटा गुट नेताका रुपमा काम गर्ने गरेको आरोप लगाउंदै ‘राष्ट्रप्रमुख’ को रुपमा राजसंस्था रहनुपर्ने धारणा व्यक्त गरेका छन् ।

पार्टीको काभ्रे जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष राणाले शनिबार सो कुरा बताएका हुन् । ‘राष्ट्रप्रमुख जस्तो संस्था निष्पक्ष र चोखो हुनुपर्छ, विचमा बसेर, निष्पक्ष भएर एउटा रेफ्रीको रुपमा काम गर्नुपर्छ,’ उनले भने, ‘निष्पक्ष र चोखो राख्नको लागि कुनै पनि पार्टीको सदस्य समेत नभएको राजसंस्थालाई ‘राष्ट्रप्रमुख’को रुपमा राख्नुपर्छ ।’

राप्रपाले हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दा लिएर जाने जानकारी दिंदै उनले धर्मनिरपेक्ष राष्ट्र जनताको माग नभएको बताए । ‘८१ प्रतिशत जनता हिन्दु छन्, परम्परागत धर्मको कुरा गर्ने हो भने त ९४ प्रतिशत पुग्छ,’ उनले भने, ‘धर्म निरपेक्ष बनाउने निर्णय जनताको हैन, संविधानत: हिन्दुराष्ट्र हुनुपर्ने माग राप्रपा अघि बढाउँछ ।’

नेपाली जनताले स्थीरता र उन्नती खोजेको तर्क गर्दै उनले दुई तिहाई मत पाएको नेकपा नेतृत्वको सरकार पनि आपसी झगडामा फसेर जनतालाई निराश बनाएको दाबी गरे ।
कार्यक्रममा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रीय सदस्य उदयसिं मुस्याजु, जिल्ला अध्यक्ष टुल्कु लामा, सचिव धनजीत लामालगायतले राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्