सोलुखुम्बु :प्रस्तावित मेरा राष्ट्रिय निकुन्जका विषयमा संभाब्यता अध्ययन गरिने
काठमाडौं। मकालु बरुण राष्ट्रिय निकुञ्जको सोलुखुम्बुतर्फको भागलाई छुट्टै निकुन्ज बनाउने विषयमा औपचारिक अध्ययन सुरु गरिने भएको छ । मेरा राष्ट्रिय निकुन्जका रुपमा अगाडि बढाउने गरी प्रस्ताव गरिएको निकुन्जको विषयमा संभाव्यता अध्ययनका लागि समिति गठन गर्ने तयारी गरिएको हो ।

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री उत्तमकुमार बस्नेत र संघीय सरकारको वन तथा वातावरण मन्त्रालयका उच्च पदाधिकारीबीच निकुन्ज बनाउने विषयमा अध्ययन गर्न समिति गठन गर्ने सहमति भएको छ ।
शुक्रबार मन्त्रालयका सचिव डा।पेमनारायण कँडेललगायतका उच्च पदस्थ कर्मचारीहरुसँग भएको भेटमा छुट्टै निकुन्ज बनाउनका लागि अध्ययन गर्न विज्ञहरुसमेत सम्मलित गरी समिति गठन गर्ने सहमति बनेको हो । त्यसका लागि आइतबार वन विभागमा सरोकारवालाहरुको बैठक तय गरिएको छ । उक्त बैठकबाट विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिको संलग्नतामा समिति गठन गरिने छ ।
मकालु वरुण राष्ट्रिय निकुन्जअन्तर्गत सोलुखुम्बुको जिल्लाको महाकुलुङ र छिमेकी गाउँपालिकाहरु सोताङ, माप्य दूधकोशी तथा थुलुङ दूधकोशीका केही भागलाई समेटेर छुट्टै निकुन्ज बनाउने तयारी गरिएको छ । उक्त निकुन्जअन्तर्गत मेरापिक हिमाल लगायतका पर्यटकीय स्थलसमेत पर्दछ । हाल मकालु बरुणबाट सोलुखुम्बुको बासिन्दाले प्रत्यक्ष लाभ लिन नसकेकाले स्थानीयबासीले छुट्टै निकुन्ज बनाउनुपर्ने माग गर्दै आएका थिए । यसअघि सो क्षेत्रका प्रदेशसभा सदस्यसमेत रहेका राज्यमन्त्री बस्नेतले स्थानीयबासीको मागअनुसार निकुन्ज बनाउन पहल गर्दै आएका थिए ।
आफूले प्रदेशसभा सदस्यकै हैसियतमा स्थानीयबासीको मागअनुसार प्रस्ताविक मेरा राष्ट्रिय निकुन्ज बनाउनका लागि आवश्यक पहल गरिरहेकामा राज्यमन्त्रीको जिम्मेवारी पाएपछि त्यसलाई मूर्त बनाउन प्राथमिकताका साथ काम थालेका बस्नेतले बताए । उनले भने, ‘अहिले प्रस्ताव गरिएको मेरा राष्ट्रिय निकुन्ज घोषणा गरी कार्यान्वयन गर्न सकेमा स्थानीयबासीले धेरै लाभ लिनसक्छन् ।
’ निकुन्ज क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रबाट उठ्ने पर्यटन रोयल्टीवापतको रकमले मात्र पनि ठूलो विकासका काम गर्न सकिने उनको भनाइ छ । निकुन्जको घोषणासँगै उक्त क्षेत्रमा पर्ने मेरापिकलगायत हिमाल र केन्पा, बुुकुर, पाँचपोखरी, साल्पा, सिलुछो, घ्याङ्खर्कलगायतका पर्यटकीय क्षेत्रको एकीकृत विकास गर्न सकिने बताइएको छ ।
राज्यमन्त्री बस्नेतले सोलुखुम्बुकै सोलुदूधकुण्ड नगरपालिकाअन्तर्गत पर्ने टिम्बुरबोटे—पत्ताले—गौरीटाप क्षेत्रको वनलाई समेत संरक्षित वन बनाउने पहल थालेका छन् । उक्त क्षेत्रको वन पैदावारको संरक्षण गरी स्थानीयबासीको जीवनयापनमा सहयोगी बनाउन सकिने संभाव्यताका आधारमा ती क्षेत्रलाई संरक्षित क्षेत्र बनाउने तयारी सुरु गरिएको हो ।
टिम्बुरबोटे प्रजातन्त्र सेनानीहरुलाई तत्कालीन पञ्चायती सरकारले क्रुरतापूर्वक मारेको सहिद भूमि पनि हो । ती बाहेक पत्ताले र गौरीटापबाट सगरमाथालगायतका हिमालको अवलोकन गर्न सकिन्छ । त्यस क्षेत्रमा ३५ भन्दा बढी जातका गुँरासका फूल रहेको समेत स्थानीयबासीले बताउने गरेका छन् । त्यस क्षेत्रको विकास गर्न सकेमा पर्यटन प्रवर्द्दनमा समेत सहयोग पुग्ने छ ।
त्यस्तै राज्यमन्त्री बस्नेतले सोलुखुम्बु, खोटाङ, भोजपुर र संखुवासभाको सीमानामा पर्ने वन क्षेत्रलाई पनि संरक्षित वन बनाउने अध्ययन गरिने बताएका छन् । त्यस क्षेत्रलाई वन्यजन्त् आरक्ष क्षेत्रको रुपमा पनि विकास गर्नसकिने विषयमा अध्ययन गरिने बताएका छन् ।

