निजी क्षेत्रको सहकार्यमा पर्यटन क्षेत्रको विकास गरिने
बिराटनगर । प्रदेश नं(१ का उद्योग, पर्यटन बन तथा वातावरणमन्त्री लछुमण तिवारीले निजि क्षेत्रको सहभागिता विना पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताउनु भएको छ ।

प्रदेशस्तरीय गन्तव्यहरुको पहिचान र छनोट प्रयोजनार्थ सरोकारवालाहरु सगंको छलफल तथाअन्तरक्रियालाई आईतवार सम्बोधन गर्दै मन्त्री तिवारीले सो कुरा बताउनु भएको हो।प्रदेश सरकारले पर्यटकीय गुरुयोजनाका लागि आवश्यक वजेट व्यवस्था गरेकाले प्राप्त सुझाव समेतलाई आधार मानेर विज्ञ टोलीको गठन गरी गुरुयोजना निर्माण गर्ने वताउंदै कार्यक्रमका प्रमुख अतिथि मन्त्री तिवारीले सहभागीहरुले दिएका सुझावलाई ग्रहण गर्दै नतिजामुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विशेष अतिथिको आसनवाट वोल्दै राज्यमन्त्री उत्तम कुमार वस्नेतले पर्यटन क्षेत्रमा लगानी गर्नेहरुको लगानीको सुरक्षा सरकारले गर्नुपर्ने बताउंदै नाफासंग नजोडीने क्षेत्रमा सरकारले लगानी गरी जनतालाई सुविधा दिनुपर्ने धारणा राख्नुभयो ।
दार्जीलिङ, अरुण भ्याली, पाँचपोखरीवाट खुम्वु क्षेत्रसम्म भर्जिन ल्यान्ड भएकाले सामान्य जनताले अनुभुति गर्ने ढंगबाट पुर्वाधार विकास गरी पर्यटन विकास गर्नुपर्नेमा राज्यमन्त्री बस्नेतको जोड थियो।
कार्यक्रममा वोल्दै नेपाल पर्यटन वोर्डका सदस्य कृष्ण साहले देश संघीयतामा गएपछि तीनै तहका सरकारले क्षेत्राधिकारका विषयमा अलमल नगरी काम गर्ने वातावरण निर्माण गर्न सके सोचे अनुसारको काम गर्न सकिने धारणा राख्नुभयो।
सहभागीहरुले एक नम्वर प्रदेशको पर्यटन करीडोर निर्माण गरी गर्नुपर्ने, कुनै ठाँउ विशेष भन्दा पनि समग्र प्रदेश भरीका पर्यटकीय गन्तव्यहरुको पहिचान गर्दै प्रचार प्रसार तथा प्रर्वद्धन गर्नुपर्नेमा जोड दिएका थिए । कोभिड १९ का कारण थला परेको पर्यटन क्षेत्रको विकासमा सहुलियतका कार्यक्रम ल्याउनु पर्ने भन्दै सरकारको प्राथमीकतामा पर्यटन क्षेत्र नपरेको गुनासो गर्नु भयो । अन्तरक्रियामा कार्यक्रममा २५ जनाले आफ्नो सुझाव पेस गरेका थिए ।
प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयकोद्वारा आयोजित कार्यक्रममा पर्यटन व्यवसायी, होटल ट्राभल एण्ड टुरगाइड, होमस्टे, स्टीम वोर्ड, उद्योग वाणिज्य संघ, होटल व्यावसायी संघ, याक तथा चौरी पालक संघ लगायत पर्यटन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको उपस्थीतिमा भएको कार्यक्रममा पर्यटनको विकास अवसर र चुनौतिका विषयमा गहन छलफल भएको थियो ।

