सोलुखुम्बु : पूर्बअध्यक्ष आङङिमा लामासहित ९ नेतालाई एमालेले गर्यो कारबाही (को को परे?)

सोलुखुम्बु।नेकपा एमालेले पार्टी हित बिपरित गतिविधिमा सक्रिय भएको आरोप लगाउंदै पूर्ब अध्यक्ष आङङिमा लामासहित झण्डै एकदर्जन नेताहरुलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ।

पार्टीको शनिबार सम्पन्न जिल्ला कमिटीको १४ औं पूर्ण बैठकले पार्टी बाट प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरुलाई कारबाही गर्न प्रदेश कमिटीलाई सिफारिस गर्ने र जिल्ला कमिटीका नेताहरुलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको उपाध्यक्ष हर्क राईले जानकारी दिए।
राईका अनुसार प्रदेश कमिटी सदस्य रहेका पार्टी जिल्लाका पूर्ब अध्यक्ष शेर्पा,बिष्णु बास्तोला,सौमाया राई र आङकामी शेर्पालाई कारबाहीका लागि माथिल्लो कमिटीमा सिफारिस गर्न निर्णय गरेको छ। जिल्ला नेताहरू दोर्जीजाङबु शेर्पा,डिल्ली राई,सन्तोष थापामगर होमा कट्टेल र याङ्दी शेर्पालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको उनले बताए।
कारबाही गरिएका र कारबाहीका लागि सिफारिस गरिएका सबै नेताहरु अहिले एमालेबाट बिभाजित भएर बनेको नेकपा एकीकृत समाजबादीमा क्रियाशील छन्।लगातार बैठकमा अनुपस्थित हुने अन्य नेताहरुलाई समेत पार्टी जिल्ला कमिटीको १५ औं बैठकले कारबाही गर्ने उपाध्यक्ष राईले बताएका थिए।
सम्पन्न जिल्ला कमिटीको १४ औं बैठकले अध्यक्ष मानबीर राईले दिएको राजीनामा स्वीकृत गर्दै जिल्ला कमिटीमा पदाधिकारी हेरफेर गर्नुका साथै जिल्लाका ५२ वटै वडाका इन्चार्ज र बिभागीय जिम्मेवारी तोक्ने काम गरेको उनले बताए।

