नेकपा माओवादी केन्द्रका सबै जिल्ला कमिटी खारेज



काठमाडौँ।राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले जिल्ला समितिहरु खारेज गरेको छ। नेकपा माओवादीको केन्द्रीय समिति बैठकले आइतबार जिल्ला समितिहरु खारेज गरेको हो।

बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्ताव सर्वसम्मतिले पारितसमेत गरेको हो। अध्यक्ष दाहालले शनिबारको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रस्ताव पेश गरेका थिए। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी दुईदिने बैठक आइतबार सकिएको हो।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको जानकारी दिए। बैठकले विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ।

पारित विधान अन्तरिम विधानको रुपमा लागू हुने प्रवक्ता श्रेष्ठले बताए। विधानलाई राष्ट्रिय सम्मेलनले अन्तिम रुप दिने उनले बताए।

यस्ता छन् बैठकका निर्णय:

१) २०७८ भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने ।

२) २०७८ असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।

३) २०७८ असोज २० गते वडा सम्मेलन

४) २०७८ असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।

५) २०७८ मङ्सिर १५ गते प्रदेश सम्मेलन

६) २०७८ पुस ११ देखि १३ सम्म पार्टीको ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने ।

७) संघीयताको मर्मअनुसार जिल्ला समिति माओवादीमा नरहने, संयोजन समितिमात्रै रहने ।

८) जनवर्गीय एवं विभिन्न जातियरक्षेत्रिय मोर्चाहरूको सम्मेलन, भेला, बैठकहरू असोज मसान्तासम्म सम्पन्न गर्ने ।

९) जनयुद्धका घाइते, अपांग तथा छापामारलाई परिचयपत्र दिइने ।

१०) विधान संशोधनसहित पारित गरिएको छ ।

११) उत्पादनका निम्ति संघर्ष र जनपरिचालन गर्ने ।

१२) सबै रिक्त कमिटिमा पदपूर्ति गर्ने । जसका लागि केन्द्रीय समितिले ७ दिनको समयसिमा दिएर स्थायी समितिलाई जिम्मा ।

प्रतिक्रिया दिनुहोस्