माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु, पुषमा राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव



काठमाडौं।आजबाट सुरु नेकपा माओवादी केन्द्र केन्द्रीय समिति बैठकमा आगामी पुसमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश भएको छ ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गरेको प्रस्तावमा पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरुको समूह बनाएर अध्यक्ष प्रचण्डको दुवै प्रतिवेदनमाथि छलफल शुरु भएको छ । शनिबार पहिलो दिनको बैठक प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने समूह बनाएर टुंगिएको छ ।

यस्तै आइतबार बिहान ११ बजेसम्म समूहगत छलफल हुने र त्यसपछि पुनः बैठक बसेर निर्णय गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।यसअघि विहान ८ बजे स्थायी कमिटी बैठक बस्नेछ । बैठकमा संविधान संशोधनको एजेण्डामाथि पनि छफल हुने भएको छ ।

राष्ट्रिय सम्मेलनबारे प्रचण्डले गरेको प्रस्तावमा ४ महिनाभित्र सबै तहका भेला सकाएर राष्ट्रिय सम्मेलन गर्ने कार्ययोजना प्रस्तुत गरिएको छ ।

जसमा भदौँ मसान्तसम्म सदस्यता वितरण गरिसक्ने, असोज १० गतेसम्म सेल कमिटी गठन गर्ने, असोज २० गतेभित्र वडा भेला गरिसक्ने कार्य योजनामा उल्लेख छ ।
त्यसैगरी असोज ३० गतेभित्र पालिका स्तरको सम्मेलन सक्ने, कात्तिक ३० गतेभित्र जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेशको सम्मेलन गरिसक्ने प्रस्ताव गरिएको छ । तल्लो तहका भेलासम्म लन सकेर पुस ११ देखि १३ सम्म राष्टिय सम्मेलन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा प्रचण्डले पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्