कांग्रेस केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित, आजको बैठकमा निर्वाचन निर्देशिका पेश



काठमाडौँ। महाधिवेशन, क्रियाशील सदस्यता विवादबारे ठोस निर्णय नै नगरी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ।

बिहीबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसमितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका पेश गरे भने क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले विवादबारे जानकारी गराए।

छानबिन समितिका संयोजक लेखकले १३ वटा निर्वाचन क्षेत्रको विवाद मिल्न बाँकी रहेको जानकारी गराए। क्रियाशील सदस्यता छानबिन समितिमा रहेर प्रतिवेदन पेश गर्दा फरक मत राखेका कल्याण गुरुङ, प्रदीप पौडेल र योगेन्द्र चौधरीले आफ्ना धारणा राखेका थिए।

उनीहरुले गुरुङले क्रियाशील सदस्यताको ओरिजिलन कपी पेश नभइ सभापतिलाई प्रतिवेदन बुझाइएको भन्दै फरक मत राखेका थिए।

त्यस्तै केन्द्रीय सदस्यहरु मोहन बस्नेत र हृदयराम थानीले आफ्नो जिल्लामा भएको विवादबारे बैठकलाई जानकारी गराएको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन्।

बैठकमा विभिन्न पार्टीबाट आएका समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजन समितिले गरेका कामबारे ब्रिफिङ गरे।

बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। महामन्त्री खड्काले पेश गरेको निर्वाचन निर्देशिकामा सभापति हुनका लागि ३० हजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रस्ताव गरिएको छ। सभापतिको प्रत्यासी हुन चाहनेले ३० हजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रस्ताव गरिएको हो।

खड्काले पेश गरेको निर्देशिकामा उपसभापतिका लागि २५ हजार, महामन्त्रीमा उम्मेद्वारी दिन २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ लाग्ने प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस्