जालझेल र तिकडमबाट होइन फेरि असाधारण जनमतबाट प्रधानमन्त्री बन्ने पूर्बप्रम ओलीको उद्घोष

काठमाडौं।पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू जालझेल र कुनै तिकडम बिनानै असाधारण जनमतबाट फेरि प्रधानमन्त्री बन्ने उद्घोष गरेका छन् ।

मंगलबार प्रतिनिधिसभामा बोल्दै ओलीले आफ्नो काम हेरेर जनताले मन पराएर आफू प्रधानमन्त्री भएको दावी गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका ओलीले भने,-‘म झ्यालबाट होइन, जस्केलाबाट होइन, छिँडीबाट होइन, भेन्टिलेटर तिरबाट होइन, मूल ढोकाबाट, मूल बाटोबाट आउनेछु।’ उनले भने, मैले पहिले पनि भनेको थिएँ फेरि पनि सुनिराखे हुन्छ, असाधारण जनमतबाट, मूलबाटोबाट, मूल गेटबाट, मूल ढोकाबाटै प्रवेश गर्छु।’
असाधारण बाटोबाट सरकार गठन भएकाले सत्ता पक्षका नेताहरु केटाकेटीलाई दशैँ आए जस्तो खुसीले उफ्रिएको आरोप ओलीले लगाए।
आफू प्रधानमन्त्री हुन नजन्मिएको तर देशको सेवा गरेर प्रधानमन्त्री बनेको दावी ओलीले गरे । आफ्नो जन्म नै देशको सेवाका लागि भएको दावी उनले गरे।
ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले सीमा विवादको बारेमा अडान लिन नसकेको आरोप लगाएका छन्।
संयुक्त सरकार संचालनका लागि ल्याइएको साझा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ता ल्याउँछु भनेर उल्लेख नभएको भन्दै ओलीले देउवा सरकारमाथि प्रहार गरेका हुन्।
‘लिम्पियाधुरा, लिपुलेक, कालापानी वार्ता गरेर फिर्ता ल्याउँछु भन्नुस् न। तर किन सक्नु भएन? लेख्न गल्ती भयो होला अब लिम्पियाधुरा, लिपुलेक, कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछु भन्नुस्’ओलीले देउवालाई भने।
यस्तै, उनले एमसीसीका बारेमा पनि देउवा सरकारलाई प्रश्न गरे।’जनता सोध्दैछन्। एमसीसी के हुन्छ ? सभामुख महोदय तपाईं के गर्नुहुन्छ। सरकार सँग मत छ। पास गरेर देखाए भइहाल्यो नि’ उनले भने।

