बैठक रोकेर एकताको पहल गर्दै एमाले नेताहरू

पार्टी एकताको प्रयास स्वरूप नेकपा एमालेको दोस्रो तहका नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन् । आइतवारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरेर विघटित कार्यदलका सदस्यहरूले आज सहमतिको प्रयास गर्ने भएका हुन् ।

माधव नेपाल पक्षका उपाध्यक्ष भीम रावलले शनिवार अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि आजको केन्द्रीय कमिटी बैठक स्थगित भएको थियो ।
१० बुँदे सहमति गरेको विघटित कार्यदलका सदस्यहरूबीच आइतवार पनि छलफल हुन लागेको हो ।
बिहीवार र शुक्रवार बसेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले १० बुँदेलाई आधार मानेर एकता गर्ने निर्णय गरेको थियो ।
पार्टी एकता गर्ने माधव नेपाल पक्षको निर्णयलाई सकारात्मक भन्दै दोस्रो तहका नेताहरूले छलफल गर्न लागेका हुन् । कार्यदलका एक सदस्यले आफूहरू निरन्तर छलफलमा रहेको र आज भेटेरै कुरा गर्ने तयारी भएको बताए । विधान अधिवेशनको तयारीका विषयमा छलफल गर्न एमाले संस्थापन पक्षले आजका लागि राखेको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

