केन्द्रीय समिति फेरबदल गर्न जसपाले बनायो कार्यदल, १७ गतेसम्मको समयसीमा

काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)ले केन्द्रीय कार्यसमितिमा फेरबदल गर्ने भएको छ । आज बसेको कार्यकारिणी समिति बैठकले केन्द्रीय समिति सदस्यहरूको नामावली अध्यावधिक गर्न पाँच सदस्यीय कार्यदल बनाएको छ ।

कार्यदलमा मृगेन्द्रसिंह यादव, रेणु यादव, गंगा श्रेष्ठ, गजाधर यादव र रमेश यादव छन् । कार्यदललाई काम सक्न १७ साउनसम्मको समय दिइएको छ ।
बैठकले केही समय अघि पार्टीमा एकीकरण गरेको नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल समूह) का अध्यक्ष शिवलाल थापालाई कार्यकारिणी समितिमा थप्ने निर्णय गरेको छ ।
बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको छनौटका लागि अध्यक्ष उपेन्द्र यादव,डा.बाबुराम भट्टराई र अशोक राईलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ।

