नाम फेर्ने निर्णय गर्दै कर्णजित नेतृत्वको माओवादीले भन्यो,-‘कम्युनिस्ट सम्मेलन आयोजना गर्छौं’



काठमाडौं। कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले पार्टीको बैठकले कम्युनिष्ट सम्मेलनको आयोजना गर्ने भएको छ।

हालै सम्पन्न पार्टी केन्द्रीय समितिको तीनदिने बैठकले गरेको निर्णय सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बुढाथोकीले मुलुकमा झन्डै ६२ प्रतिशत कम्युनिस्ट जनमत रहेपनि राजनीतिको मियोमा दक्षिणपन्थीहरु हावी हुने परिष्थितिको अन्त्यका लागि सबै कम्युनिस्टहरु ध्रुबिकृत हुनुपर्ने आवश्यकता बोध गरेर कम्युनिस्ट सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिए ।

वस्तुगत अवस्थाका कारण पार्टीको नाम परिवर्तन गर्दै नेकपा (माओवादी केन्द्र समाजवादी) बनाएको सो बैठकले पार्टीको ९ औँ महाधिबेशन आगामी फाल्गुण १ देखि ३ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो।

श्रावण ४, ५ र ६ गते बसेको बैठकले पार्टीको केन्द्रिय समितिको बैठकले ‘वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढौँ’ भन्ने नाराका साथ साउन २५ गते ७ वटै प्रदेशमा समाजवादी जनजागरण अभियान उद्घाटन गर्ने निर्णय गरेको पनि अध्यक्ष बुढाथोकीले जानकारी दिए।

उनले २ तिहाई प्राप्त कम्युनिष्ट सरकार प्रचण्ड, केपी ओली र माधव नेपालको अदुरदर्शीता, असक्षमता र व्यक्तिगत स्वार्थकै कारण देश दक्षिणपन्थीहरुको हातमा पुगेको सो पार्टीको ठहर छ। अध्यक्ष बुढाथोकीले माओवादी पार्टी र शक्तिसंँग कार्यगत एकता, रणनैतिक मोर्चा र पार्टी एकतासम्म पुर्‍याउने बैठकले निर्णय गरेको सुनाए ।

नेपालको संसदीय व्यवस्थाले प्रतिगमनको दिशातिर यात्रा गरेको उनको भनाई थियो । सीमा अतिक्रमण, शिक्षा र स्वास्थ्य रोजगारको आधारभूत समस्या विकराल बन्दै गएको उनको तर्क थियो ।

उनले कोभिड–१९ को महामारी, प्राकृतिक बिपत्तीको समयमा जनसेवा, राहत वितरण, स्वास्थ्य शिबिर, रक्तदान कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा भावी दिनमा पनि यी कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता पनि व्यक्त गरे।

कार्यक्रममा पार्टीका उपाध्यक्षहरु रंगनाथ ढकाल, बिनोद उपाध्याय, महासचिव नरेश शाही, सचिव अरुण घिसिङ, मेख बहादुर खत्री, श्रृजन बि.क, प्रदेश ५ का संयोजक धु्रब सत्याल, प्रदेश २ का अध्यक्ष बृद्धि विलासलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्