पार्टीमा फर्किनेलाई आममाफी दिने एमाले अध्यक्ष ओलीको घोषणा

काठमाडौं।आफ्नै पार्टीको सरकार गिराएर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन सहयोग गरेका माधव नेपाल समूहका २२ जना सांसदले २४ घण्टे स्पष्टीकरण बुझाएकै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले नेकपा एमालेमा यसअघि कारवाही गरेका, स्पष्टिकरण सोधेका सबैलाई आममाफी दिने बताएका छन् ।

पुष्पलाल स्मृति दिवसको आयोजित कार्यक्रममा उनले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित सबैलाई आफूले आममाफी दिने बताएका हुन् ।
‘यो पार्टीमा जे हुनु थियो भयो, सबैभन्दा ठूलो दल भएर पनि हामी प्रतिपक्षमा बस्ने अवस्थामा पुगेका छौँ,’ ओलीले भने, ‘कम्युनिस्ट आन्दोलनका लागि यो सबैभन्दा बढी ठूलो क्षति हो । आउनुहोस्, म सबैलाई आममाफी दिन्छु ।’
उनले २०२९ सालमा पनि आफूमाथि कू भएको दाबी गर्दै यसपटक पनि आफूमाथि कू भएको बताएका छन् । तर, अब यी सबै कुराहरु भुलेर आफू अगाडि बढ्ने पनि उनले बताएका छन्।

