प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा युवा संघको प्रदर्शन



काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपालले संघीय राजधानी काठमाडौँमा प्रर्दशन गरेको छ । प्रधानमन्त्री ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपालका युवाहरूले आइतबार काठमाडौँको माईतीघर मण्डलामा प्रर्दशन गरेका हुन् । वर्तमान सरकार र नेकपा एमाले विरुद्धको घेराबन्दीविरुद्ध प्रर्दशनमा उत्रिएको युवा संघले जनाएको छ ।

विपक्षी गठबन्धनमा संलग्न भएका राजनीतिक दलका विद्यार्थी संगठनहरु चरणबद्ध आन्दोलनमा उत्रिएका बेला प्रधानमन्त्री तथा सरकारको समर्थनमा सत्तारुढ दलका युवाहरु पनि प्रतिकारात्मक प्रर्दशनमा उत्रिएका हुन् ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले सरकारविरुद्ध चौतर्फी घेराबन्दी भएपछि आफूहरू प्रतिकारमा उत्रिएको बताए । उनले राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध भएका गतिविधिको जस्ताको तस्तै जवाफ दिने चेतावनी दिए ।

‘राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ताको शरिरमा २ थोपा रगत रहुञ्जेल सम्म तिमीहरूले हाम्रा नेताको पुत्ला जलाएर केही फरक पर्दैन । हाम्रो नेताको कुनै भुत्ला जल्नेवाला छैन । हामी तिमीहरूका हरेक किसिमका गतिविधिहरुको जस्ताको तस्तै जवाफ दिन तयार छौँ’ उनले भने ।

प्रर्दशनमा सहभागी युवाहरूले केपी ओलीको चित्र अनुहारमा कोरेका थिए । उनीहरूले संविधान मिच्न पाइँदैन भन्दै नाराबाजी गर्नुको साथै नेपालको नक्सा र संविधान प्रर्दशनमा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्