निर्वाचन आयोगद्वारा मध्यावधिको कार्यतालिका तयार, असोज २० र ३१ गते उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा पुगेका बेला निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ । निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले आजै मतदाता नामावली, दल दर्ता र तथा उम्मेदवारी मनोनयन लगायतका सबै कार्यतालिका औपचारिक रूपमा सार्वजनिक हुने जानकारी दिए ।

आयोगको बैठकले तयार पारेको नेपाल प्रेसलाई प्राप्त तालिका अनुसार पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा २० गते उम्मेदवारी मनोनयन गर्ने तालिका बनेको छ । दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते उम्मेदवारी मनोनयनको तालिका तय भएको छ ।
सरकारले पहिलो चरणमा कात्तिक २६ र दोस्रो चरणमा मंसिर ३ मा निर्वाचनको मिति तोकेको छ । आयोगले निर्वाचन प्रयोजनका निम्ति दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय दिने भएको छ ।

