गुण्डा नाईके गणेश लामाको रिहाईका लागि कांग्रेसले कडा आन्दोलन गर्ने



बनेपा । नेपाली कांग्रेसले गुण्डा नाइकेसमेत रहेका काभ्रेका गणेश लामालाई रिहा नगरिए कडा कदम चाल्ने चेतावनी दिएको छ। कांग्रेस काभ्रेका सभापति मधु आचार्यले बिहीबार साँझ एक विज्ञप्ति निकालेर आफूहरुका नेता लामाको रिहा माग गरेका हुन्।

गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका गणेश लामालाई प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको थियो। गण्डकी प्रदेशमा विश्वासको मत लिने कार्यक्रम भइरहेका बेला लामा पोखराबाट समातिएका थिए।

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ। ‘नेपाली कांग्रेस काभ्रेका नेता एवम् गत आमनिर्वाचनमा प्रदेश सभा क्षेत्र नं १ ‘ख’ बाट उम्मेदवार रहनुभएका गणेश लामालाई अलोकतान्त्रिक ओली सरकार र विश्वासको मत गुमाएर विक्षिप्त बनेको गण्डकी प्रदेश सरकारको मिलोमतोमा आज साँझ पोखरामा शान्तिपूर्वक रहिरहेको अवस्थामा प्रतिशोधपूर्वक पक्राउ गरेको घटनाको घोर भत्सर्ना गर्दछौँ, ‘ कांग्रेस काभ्रेका सभापति मधु आचार्यले भनेका छन्।

उनले लामाको अबिलम्ब रिहाइ माग गरेका छन्। ‘नेपाली कांग्रेस काभ्रे नेता गणेश लामाको अविलम्ब ससम्मान रिहाइ माग गर्दछ’, आचार्यले भनेका छन्, ‘अन्यथा नागरिक अधिकार कुल्चने र कानुनी शासनको धज्जी उडाउने यसप्रकारको सर्वसत्तावादी हर्कतविरुद्ध सशक्त कदम चाल्न बाध्य हुने छौँ।’

प्रतिक्रिया दिनुहोस्