ढुंगा गिट्टी निकास गर्ने सरकारको योजना राष्ट्रघाती र जनघाती : बिपक्षी गठबन्धन

काठमाडौं । सरकारले बजेटमार्फत ढुंगा गिट्टी निकास गर्ने योजना अघि सारेकोमा विपक्षी दलहरुको गठवन्धनले विरोध जनाएको छ । गठवन्धनका नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै निर्णय खारेज गर्न माग गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका पूर्व वरिष्ठ नेता माधवकुमार नेपाल जसपा अध्यक्ष उपेन्द्र यादव, र राष्ट्रिय जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेको संयुक्त बिज्ञतिमा सरकारको सो निर्णयले नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका बासिन्दाको जनजीवनलाई जोखिमयुक्त बनाउने उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यो राष्ट्रघाति र जनघाति निर्णय हो । बजेट घाटा पूर्ति गर्ने भ्रम छर्दै सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको छ ।’ सत्ता टिकाउनका लागि कसैलाई रिझाउने र राष्ट्रिय स्रोतको दुरुपयोग गर्ने काम भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो गरेको मन्त्रीमण्डल पुनर्गठनप्रति पनि गठवन्धनका नेताहरुले आपत्ति जनाएका छन् । संसद विघटनको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको स्थितिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन गर्ने कार्य संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास भएको संयुक्त विज्ञप्तिमा जनाइएको छ ।


