विघटन सम्बन्धि मुद्दामा सर्बोच्चको फैसला कुरेर अगाडि बढ्ने खनाल-नेपाल पक्षको निर्णय

काठमाडौं।पार्टीबाट कारवाहीमा परेका नेकपा एमालेका नेता झलनाथ खनाल र माधव नेपाल पक्षले पार्टी एकताको नाममा अध्यक्ष केपी शर्मा ओलीले तिकडम र जालझेल मात्र गरिरहेको आरोप लगाउंदै प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसला कुरेर सोही अनुसार अगाडि बढ्ने निष्कर्ष निकालेको छ ।

खनाल–नेपाल पक्षको स्थायी कमिटीको शनिवार भएको भर्चुअल बैठकले ओली पार्टी एकताको पक्षमा नभएको निष्कर्ष निकालेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।
बैठकले ४ बुँदे प्रस्ताव पारित गर्दै वक्तव्य जारी गर्ने निर्णय गरेको उनले बताए । स्थायी कमिटी बैठकले कामचलाउ हैसियतमा पुगेको सरकारले गरेको मन्त्रिमण्डल विस्तारप्रति विरोध जनाएको छ ।
उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले दिएको बहुराष्ट्रिय राज्य स्थापनाका लागि संघर्ष गर्ने अभिव्यक्तिप्रति खेद व्यक्त गरेको छ ।
बजेटमार्फत् गिट्टी बालुवा निकासी गर्ने प्रस्तावप्रति पनि स्थायी कमिटी बैठकले विरोध जनाएको छ । ‘गिट्टी, बालुवा निकासी गर्न दिने निर्णय राष्ट्रिय हित विपरीत भएकाले त्यसको जोडदार विरोध गरिएको एक नेताले बताए ।
बैठकले पार्टी एकताका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली इमान्दार नभएको निष्कर्ष समेत निकालेको छ । ‘पार्टीलाई एकताबद्ध बनाउन अध्यक्षबाट इमान्दार प्रयत्न गर्नुको सट्टा जालझेल र तिकडम गर्ने काम भएको छ,’ बैठकको निष्कर्षबारे उनले भने ।

