प्रचण्डलाई सुदूरपश्चिमका नेता कार्यकर्ताहरु चेतावनी-‘एक दिन तपाईंले अवश्य पछुताउनु पर्ने छ’



काठमाडौं।कैलालीका सांसद विरमान चौधरी र प्रत्यक्ष निर्वाचित सुदूरपश्चिमकी एक्ली महिला सासद देवकी मल्ललाई मन्त्रिपरिषद् पुनर्गठनमा छुटाएको भन्दै सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ता अध्यक्ष पुष्पकमल दाहालसंग आक्रोशित बन्न पुगेका छन्।

शुक्रबार माओवादी केन्द्रबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी र मानबहादुर सुनारलाई राज्यमन्त्री नियुक्त गरेपछि
उनीहरूले विधि, पद्धतिको नौटंकी र सुदूरपश्चिमलाई हेप्ने मामलामा कुनै पनि पार्टीका शीर्ष नेता कोहीभन्दा कोही कम नरहेको आरोपसमेत लगाएका छन्। उनीहरूले सुदूरपश्चिमको पार्टी नेतृत्वलाई जोकरफाल्तु बनाएर यहाँको पार्टी र संसदीय दलको चाहना र भावनालाई लत्याउँदै केन्द्रले लादेर गर्न लागेको प्रदेश मन्त्रिपरिषद् पुनर्गठन गरिएको भन्दै खेद व्यक्त समेत गरेका छन् ।

पूर्वसांसद मन्जु बमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निद्राबाट बिउँझिन आग्रह गरेकी छन् । उनले ‘तपाईं कस्को बैशाखीमा सुदूरको यात्रा गर्दै हुनुहुन्छ ?’ भन्दै प्रश्न समेत गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कमरेड प्रचण्ड अब त निद्राबाट बिउँझनुस् । तपाईं कस्को बैसाखीमा सुदूरको यात्रा गर्दै हुनुहुन्छ ? निश्चित पनि सुदूरपश्चिमको पार्टी इन्चार्जविहीन हुँदा ​तपाईं नै सुदूरपश्चिम प्रदेश इन्चार्ज हो । यहाँको पार्टीलाई जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने इमानदार कार्यकर्तालाई किनारा लगाएर बारम्बार तपाईं​को वरिपरि परिक्रमा गर्ने एक–दुईजनाले भनेको भरमा पार्टी चलाउने कि अधिकांश नेता–कार्यकर्ताको पनि सुझाब लिने ? तपाईंले सुदूरपश्चिमलाई हदैसम्म हेप्नु भो । हिजो लेखराजका एकलौटी कुरा सुन्नु भो र इमानदार कार्यकर्ताको कत्लेआम गर्नमा साथ दिनुभो, आज बुहारीका कुरा सुन्दै हुनुहुन्छ । एक दिन अवश्य पछुताउनुपर्नेछ, जुन दिन निकै ढिलो भइसकेको हुनेछ । भिरबाट हामफाल्नेलाई राम राम त भन्न सकिएला काँध थाप्न त सकिँदैन…।’

सुदूरपश्चिमको मन्त्रिपरिषद्मा अब माओवादी केन्द्रका मुख्यमन्त्रीसहित तीन मन्त्री र एक राज्यमन्त्री छन् । कैलालीका सांसद विरमान चौधरी र प्रत्यक्ष निर्वाचित सुदूरपश्चिमकी एक्ली महिला सासद देवकी मल्ललाई मन्त्रिपरिषद् पुनर्गठनमा छुटाएको भन्दै नेता–कार्यकर्ता रुष्ट देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्