गण्डकी र लुम्बिनीमा कांग्रेस -माओवादीको भागबन्डा, एमाले नेतृत्वको सरकार संकटमा



काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच दुई वटा प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति भएको छ। मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई प्रदेशमा सत्ता सहकार्य गर्ने सम्झौता भएको हो।

देउवा निकट एक जना नेताका अनुसार गण्डकी प्रदेशमा माओवादी केन्द्रको समर्थनमा कांग्रेस नेतृत्वमा सरकार बनाउने सहमति भएको हो। यसका साथै लुम्बिनी प्रदेशमा भने कांग्रेसको समर्थनमा माओवादी केन्द्रले सरकार बनाउने सहमति छ।

‘गण्डकीमा हामीलाई माओवादी केन्द्रले सघाउने र लुम्बिनीमा हामीले माओवादी केन्द्रलाई सघाउने सहमति बनेको छ,’ ती नेताले भने।

दुई नेताहरूको सहमतिअनुसार गण्डकी प्रदेशमा कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने पक्का भएको छ। प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाले दिएको समर्थन फिर्ता लिने निर्णय भएपछि गुरुङ सरकारको विकल्पमा नेपाली नेतृत्वमा सरकार बन्ने भएको हो।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीको सहभागितामा सरकार बन्ने र कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने सहमति भएको माओवादी केन्द्र प्रदेश सभा संसदीय दलका नेता हरिबहादुर चुमानले बताए। पूर्वी नवपरासीको क्षेत्र नम्बर १ (क) बाट नेपाली निर्वाचित भएका हुन्। जनमोर्चाले यी ३ दललाई सघाउने भए पनि सरकारमा भने सहभागी हुनेछैन।

हाल मुख्यमन्त्रीसहित ७ मन्त्रालय रहेकामा कांग्रेस र माओवादीले ३-३ मन्त्रालय लिने र जसपालाई १ मन्त्रालय दिने प्रारम्भिक सहमति जुटेको छ। बिहीबार बिहान ४ दलको बैठक बस्ने र अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा दलहरु छन्।

गण्डकी प्रदेशसभामा ६० सदस्यमध्ये नेकपा एमालेसँग २७ सिट छ। माओवादी केन्द्रका १२ सांसद छन्। माओवादीका मन्त्री फिर्ता भएपनि अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन। कांग्रेससँग १५ र जसपासँग २ सांसद छन्।

लुम्बिनीमा भने कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषय माओवादी केन्द्रले टुंग्याएको छैन।

यी दुवै प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केपी शर्मा ओली पक्षको सरकार छ। गण्डकीमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री छन् भने लुम्बिनीमा शंकर पोखरेल मुख्यमन्त्री छन्।

प्रतिक्रिया दिनुहोस्