देउवाको हतारोमा जसपा बाधक



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सत्ता सहकार्यको विषयमा छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको पहलमा शुक्रबार बसेको तीन दलको बैठकमा ओली सरकारको विकल्प खोज्न नेताहरु सहमत भएका हुन् ।

देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने पार्टीको निर्णय सभापति देउवाले माओवादी र जसपाका नेताहरुलाई औपचारिकरुप जानकारी गराएका छन् । बैठकमा नयाँ सरकार गठनबारेमा जसपाको औपचारिक निर्णय कुर्ने नेताहरुबीच सहमत भएको छ ।

कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र सहमत भएको बैठकपछि सो पार्टीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर, यसबारे जसपाले निर्णय नगरेकाले उसको निर्णय पर्खने र त्यसपछि पुनः तीन दलको बैठक बस्ने श्रेष्ठले जानकारी दिए ।

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेको जसपाका नेता महन्थ ठाकुरले जानकारी दिए । यसबारे चाँडै निर्णय गरिने ठाकुरले बताए । सो बैठकमा जसपाका नेताहरुले रेशम चौधरीसहितका बन्दीहरुको रिहाई, मुद्दा फिर्ता, संविधान संशोधन गर्नुपर्ने माग दोहो¥याएको छ ।

बैठकमा कांग्रेस सभापति देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, शशांक कोइराला, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देव गुरुङ र जसपाका महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतोलगायतका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्