शिक्षा मन्त्रीलाई बुझायो महासंघले चौध बुँदे ध्यानाकर्षण पत्र



खगिन्द्रराज बास्तोला
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ तथा सचिव रामप्रसाद थपलियासँग भेट गरी शिक्षा, शिक्षक तथा विद्यालय कर्मचारीका मुद्धामा ध्यानाकर्षण गरेको छ । मंगलबार मन्त्रालयमै भेटी महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मन्त्री श्रेष्ठ तथा सचिव थपलियासमक्ष १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्ष हेमचन्द्र महतो, महासचिव लक्ष्मी किशोर सुवेदी, उपमहासचिव शंकर अधिकारी रहेका थिए । प्रतिनिधिमण्डलले नयाँ बजेटमा प्रबन्ध गर्ने विषय लगायत शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्नो माग र अडान प्रस्तुत गरेको महासंघले जनाएको छ । महासंघ र मन्त्रालयबीच भएका सहमति सम्बोधन हुने गरी राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने राहत करार, साविक उमावि, बालकक्षाका शिक्षक तथा विद्यालय कर्मचारीसँग विगतमा भएको सम्झौता स्थायी शिक्षकका समस्या र मागहरु विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकमाथि भएको उचित तलब बृद्धिको सवालबारे छलफल भएको थियो ।
भेटमा प्रतिनिधि मण्डलले शैक्षिक सम्वाद समन्वय समितिको बैठकको निरन्तरता र सहमति हुन बाँकी सबै मुद्धामा छलफल गरी सहमति गरिनुपर्ने विभिन्न कारणले स्थानीय तहले तलब भुक्तानी नदिएका कारण मर्कामा परेका शिक्षकको समस्या सुनुवाई गर्नुपर्ने लगायतका विषयमा छलफल भएको महासंघले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्