एमाले केन्द्रीय कमिटी बैठकद्वारा फागुन २८ गतेको निर्णय अनुमोदन

काठमाडौं, ८ चैत्र । केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव एमाले केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको एमाले केन्द्रीय कमिटी बैठकले फागुन २८ गतेको निर्णय अनुमोदन गरेको हो ।

बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजन कमिटी गठन गरेको र आयोजक कमिटीको अध्यक्षमा केपी ओली र महासचिवमा इश्वर पोखरेललाई निरन्तरता दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बहिस्कार गरेको सो बैठकमा भएका निर्णय आजको केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्ने भनिएको थियो ।
फागुन २८ गतेको बैठकले एमालेको दशौं महाधिवेशन आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको थियो । माओवादीबाट मिसिन आएका २३ जनालाई केन्द्रीय कमिटीमा समेट्दै महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बैठकले २६४ केन्द्रीय सदस्यको कार्य विभाजनको प्रस्ताव गर्न विष्णु पौडेलको संयोजकत्वमा टोपबहादुर रायमाझी र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । बाहेकका पद निलम्बन गर्दै महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको थियो ।
पार्टी हित विपरितको काम गरेको भन्दै बैठकले माधवकुमार नेपाल पक्षका ५ जना नेतासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । माधव नेपाल सहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई पार्टी बिरुद्ध काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

