नेकपा एमाले : ४ गतेको भेला नरोक्ने अडानमा खनाल- नेपाल समूह



काठमाडौं, २ चैत्र । नेकपा एमालेका दुई पक्षले अघि बढाइरहेको समानान्तर गतिविधिले निरन्तरता पाउने पाउने भएको छ। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल आ-आफ्नो अडान राख्दै सकिएको छ।

छलफलमा ओलीले फागुन २८ गते बालुवाटारमा आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको भेला गरी गरेको भनिएको निर्णय खारेज गर्नुपर्ने अडान नेपाल पक्षले राखेको थियो। सो भेलाबाट ओलीले नेताहरुको जिम्मेवारी हेरफेर गर्ने, केन्द्रीय कमिटी सदस्य थप्नेदेखि विधान संशोधन गर्नेसम्मका निर्णय गरेका थिए।

तर, नेपाल पक्षको अडानमा ओली पक्ष समहत भएनन्। आ-आफ्ना अडान यथावत रहेपछि सोमबारको छलफल निष्कर्षविहीन भएको छ।

ओली पक्षले आफू अनुकूल गरेका निर्णय रद्द गर्न सहमति नजनाएपछि नेपाल पक्षले यही चैत ४ र ५ गतेका लागि आयोजना गरेको राष्ट्रिय भेलालाई पनि निरन्तरता दिने बताएको छ।

‘२८ गतेको निर्णय रद्द भयो भने मात्रै हामीले आयोजना गरेका आगामी कार्यक्रम पनि स्थगित गर्छौं’, बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भने।

छलफलमा सर्वोच्च अदालतले एमाले ब्युँत्याइदिएका कारण माओवादी केन्द्रसँग एकता गर्नुअघिकै संरचनाअनुसार अघि बढ्नुपर्ने नेपाल पक्षको प्रस्ताव थियो। तर, ओलीले भने समय अघि बढिसकेको जवाफ फर्काएका थिए। दुवै पक्षले आ-आफ्नो अडान कायम राखेको र कुनै सहमति नभएको नेता रघुजी पन्तले बताए।

प्रतिक्रिया दिनुहोस्