बाल कलाकार मञ्जली तामाङको नयाँ गीत ‘दनदनी’ सार्बजनिक हुंदै
काठमाडौं,२ असोज । बाल कलाकारका रूपमा कलाकारिता यात्रा सुरु गरेकी मञ्जली तामाङले ‘दनदनी’ बोलको नयाँ गीत सार्वजनिक गर्ने भएकी छन्। आगामी असोज १० गते शुक्रबार सार्वजनिक हुने गीतमा मञ्जलीकै स्वर रहेको छ। गीतको म्युजिक भिडियोमा समेत उनले अभिनय गरेकी छन्।

६ वर्षको उमेरदेखि कलाकारितामा सक्रिय मञ्जली अहिले १४ वर्षकी भएकी छन्। म्युजिक भिडियोमार्फत अभिनय यात्रा सुरु गरेकी उनको पहिलो म्युजिक भिडियो ‘सही हो माया सही हो’ हो। त्यसपछि उनले करिब एक दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् भने केही टेलिसिरियलमा समेत अभिनय गरेकी छन्।
सानै उमेरदेखि विद्यालयमा आयोजना हुने नृत्य तथा अभिनय प्रतियोगितामा सहभागी हुँदै आएकी मञ्जलीले अभिनयसँगै गायनमा पनि आफ्नो पहिचान बनाउन थालेकी छन्। गायनमा रुचि बढेपछि उनले ‘मामा भान्जी’ बोलको गीतमार्फत स्वरयात्रा सुरु गरेकी थिइन्। उक्त गीतको भिडियोमा समेत उनले आफैं अभिनय गरेकी थिइन्।
‘मामा भान्जी’ पछि मञ्जलीले ‘गरिबको कानुन’, ‘भ्रष्टलाई फाँसी’, ‘मेन्दो माया’, विभिन्न तीज गीत तथा ‘मामा भान्जी–२’ लगायत करिब एक दर्जन गीतमा स्वर दिइसकेकी छन्। उनका केही नयाँ गीतसमेत सार्वजनिक हुने तयारीमा छन्।
अभिनय र गायन दुवै क्षेत्रमा सक्रिय मञ्जली हाल काठमाडौंको कपनस्थित गोल्डेन पिक हाई स्कुलमा कक्षा ८ मा अध्ययनरत छन्। पछिल्लो समय बाल कलाकारका रूपमा परिचित उनी गायिकाका रूपमा समेत दर्शक–श्रोतामाझ आफ्नो स्थान बनाउने प्रयासमा छिन्।
‘दनदनी’मा स्वर र अभिनय दुवै गरेकी मञ्जलीले नयाँ गीतबाट दर्शक–श्रोताको माया र साथ पाउने अपेक्षा व्यक्त गरेकी छन्।


