रेडियो नेपालका प्रथम गायक तथा रंगकर्मी स्वर्गीय हरिप्रसाद रिमालको अर्धकदको प्रतिमा अनावरण गरिने
काठमाडौं,२८ भदौ । रेडियो नेपालका प्रथम गायक तथा महान् रंगकर्मी एवं अभिनेता स्व. हरिप्रसाद रिमालको १०२औँ जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाइने भएको छ।

रिमालको जन्मजयन्ती पारेर आगामी असोज २ गते शुक्रबार उनको अर्धकदको प्रतिमा अनावरण गरिने भएको हो। हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठान परिवारले आयोजना गर्ने कार्यक्रममा हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत तथा सञ्चार सेवा सम्मान तथा पुरस्कारसमेत प्रदान गरिनेछ।
रिमाल नेपाली रेडियो नाटकका अग्रणी व्यक्तित्वका रूपमा समेत चिनिन्छन्। रेडियो नेपाल स्थापना भएपछि सन् १९५०/५१ तिर शंकर लामिछानेको रचनामा रहेको दिल टुक्रा भएर आँखाको बाटो बगेछ बोलको गीत रेकर्ड गराएर उनी रेडियो नेपालका पहिलो गायक बनेका थिए। रेडियो नाटकको विकासमा समेत उनको महत्वपूर्ण योगदान रहेकाले उनलाई नेपाली रेडियो नाटकका पिता भनेर समेत चिनिन्छ।
रंगमञ्च र रेडियो नाटकका विशिष्ट निर्देशक रिमाल रंगमञ्चिय र फिल्मको अभिनय तथा गायनमा सक्रिय थिए। रिमाल नेपाली फिल्म क्षेत्रका प्रारम्भिक कलाकारमध्ये पनि एक हुन्। उनले नेपाली कलाकारलाई लिएर नेपालमै सुटिङ गरिएको नेपालको पहिलो फिल्म आमामा समेत अभिनय गरेका थिए। त्यसपछि मनको बाँध, के घर के डेरा लगायतका फिल्ममा समेत उनको अभिनय देख्न सकिन्छ। अभिनयसँगै उनले निर्देशनसमेत गरेका थिए।
करिब सात दशक लामो नेपाली रंगमञ्च, रेडियो, संगीत र अभिनय यात्रामा रिमालले बहुआयामिक योगदान दिएका थिए। नेपाली रंगमञ्चलाई व्यावसायिक तथा कलात्मक रूपमा अघि बढाउने प्रारम्भिक पुस्ताका कलाकारका रूपमा उनको योगदानलाई महत्वपूर्ण मानिन्छ।
वि.सं. १९८२ असोज ४ गते जन्मिएका रिमालको २०७५ भदौ १५ गते निधन भएको थियो। उनको जन्मजयन्तीमा राजधानीको मध्य वानेश्वरस्थित उनकै निवासमा आयोजना हुने कार्यक्रममा उनको प्रतिमा अनावरणसँगै कला तथा सञ्चार क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिने प्रतिष्ठानका सदस्य सचिव तथा अभिनेता सम्राट सापकोटा जनाएका छन्।
प्रतिष्ठानका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीको विशेष आतिथ्यमा हुने कार्यक्रममा रिमालको योगदानसँग सम्बन्धित पुस्तक तथा पुरस्कार प्रदानसमेत गरिनेछ।


