रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई जनही १० लाख, प्रधानमन्त्री राहत कोषमा ४० करोड
काठमाडौं,१७ भदौ । रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ विशेष आर्थिक सहयोग उपलब्ध गराइने भएको छ। नेपाल प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले उक्त निर्णय गरेको हो। मृतक प्रहरी कर्मचारीका परिवारलाई प्रहरी कर्मचारीहरूबाट राहतस्वरूप संकलन गरिएको रकमबाट तत्काल जनही १० लाख रुपैयाँ उपलब्ध गराइनेछ।
बैठकले बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
हालसम्म फेला पर्न नसकेका प्रहरी कर्मचारीको खोजीलाई थप प्रभावकारी बनाउन परिवारका सदस्यसँगको समन्वयमा विशेषज्ञसहितको टोली परिचालन गरी खोजतलास कार्यलाई तीव्रता दिने निर्णय पनि गरिएको छ।दिवंगत प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गरिने भएको छ। मृतकका परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गर्नुका साथै रोजगारीका लागि आवश्यक पहल गरिनेछ।
दिवंगत प्रहरी कर्मचारीका सन्ततिलाई पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म तथा नेपाल प्रहरी आवासीय विद्यालय,साँगा काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाइने निर्णय पनि बैठकले गरेको छ।
यसैगरी,बाढी प्रभावित क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी पोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, प्रहरी चौकी स्याफ्रुवेशी र प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत सामग्रीमा भएको क्षतिको राहतस्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ।
दिवंगत,सम्पर्कविहीन तथा घाइते प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई खोजतलास, उपचार तथा आवश्यक सेवा–सुविधा प्राप्तिमा सहजीकरण गर्न नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोक्ने निर्णयसमेत गरेको छ।

