शिक्षक हत्या आरोपमा ११ जना पक्राउ
भोजपुर,१७ भदौ । भोजपुरमा मेला घुम्न गएका एक जना शिक्षकको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गत भदौ ११ गते राति करिब ११ः४५ बजे भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ मा रहेको भदौरे मेला घुम्न आएका खोटाङको केपिलासगढी गाउँपालिका–७ निवासी ३१ वर्षीय भानुभक्त राईमाथि पुरानो विवादका कारण कुटपिट भएको थियो।
स्थानीय सूर्य माध्यमिक विद्यालयमा राहत कोटाका शिक्षकका रूपमा कार्यरत राईको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको थियो।
घटनामा संलग्न रहेको आरोपमा खोटाङको केपिलासगढी गाउँपालिका–७ निवासी २१ वर्षीय प्रवेश भनिने सागर कोयी राई, २१ वर्षीय मोली भनिने प्रतीक राई, २५ वर्षीय माइकल भनिने निशान राई, २३ वर्षीय सुशिल राई, ३२ वर्षीय शेरबहादुर भनिने अमर राई, ३० वर्षीय उमेश भनिने उमेश दुमी राई, ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीया सुनिता राई, ४३ वर्षीया तेजकुमारी राई, १९ वर्षीया देविका राई र २० वर्षीया चन्द्रकला राई पक्राउ परेका छन्।
पक्राउ परेका सबै जनामाथि अनुसन्धानका लागि भोजपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

