रसुवा बाढी : प्रभावित १५ स्थानीय तहका लागि १३ करोड ५० लाख निकासा



काठमाडौ‌,१७ साउन । सरकारले रसुवाको भोटेकोसी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि १३ करोड ५० लाख निकासा गरेको छ ।

सरकारले दुई चरणमा ती पालिकामा उक्त रकम निकासा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोसी हुँदै त्रिशुली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि एक/एक करोड र धादिङका लागि ५० लाख दिने निर्णय सरकारले गरेको थियो ।

त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत यही भदौ १२ गते ६ करोड ५० लाख र १६ गते रु छ करोड ५० लाख गरी रु १३ करोड ५० लाख निकासा गरेको हो । प्राधिकरणका अनुसार रसुवाको उत्तरगया गाउँपालिकाका लागि रु एक करोड ५० लाख, गोसाईंकुण्ड गाउँपालिकाका लागि दुई करोड, कालिका गाउँपालिकाका लागि ६० लाख र आमा छोदिङ्मो गाउँपालिकाका लागि ४० लाख निकासा गरिसकेको छ ।

त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकाका लागि तीन करोड, बेलकोटगढी नगरपालिकाका लागि एक करोड ५० लाख, किस्पाङ गाउँपालिकाका लागि ५० लाख र तारकेश्वर गाउँपालिकाका लागि एक करोड निकासा गरिएको छ । त्यस्तै, धादिङका गल्छी गाउँपालिकाका लागि ६० लाख, सिद्धलेक गाउँपालिकाका लागि ४० लाख, गजुरी गाउँपालिकाका लागि ४० लाख र बेनिघाट रोराङ गाउँपालिकाका लागि ४० लाख निकासा गरिएको प्राधिकरणले जनाएको छ ।

साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख तथा तनहुँको देवघाट गाउँपालिकाका लागि ४० लाख र आँबुखैरनी गाउँपालिकाका लागि ४० लाख निकासा भइसकेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म सात अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते एक करोड निकासा दिएपछि अब सो कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ । साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्