रास्वपाले सार्बजनिक गर्यो स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रुपरेखा
काठमाडौं,२२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रुपरेखा–२०८३ सार्वजनिक गरेको छ ।

साउन १३ गतेको केन्द्रीय समिति बैठकबाट अनुमोदित उक्त रुपरेखाअनुसार भदौ १ गतेदेखि क्यान्डिडेट क्लबका लागि आवेदन खुला गरिनेछ ।
रास्वपाले उम्मेदवार छनोट प्रक्रिया पारदर्शी,निष्पक्ष र विधिसम्मत बनाउन पाँच बुँदे आचारसंहिता लागू गरेको छ ।
यसअन्तर्गत आर्थिक लेनदेन, चलखेल र सौदाबाजीमा पूर्ण प्रतिबन्ध लगाइएको छ । आन्तरिक मतदान वा मूल्यांकनमा धाँधली, तथ्यांक तोडमोड वा नक्कली कागजात प्रयोग गरे सदस्यता खारेजसम्मको कारबाही हुने व्यवस्था गरिएको छ ।
छनोट समितिमा रहेका पदाधिकारीले पक्षपात, गोप्य सूचना चुहावट वा प्रक्रियामा हस्तक्षेप गरे कडा कारबाही गरिनेछ । गुटबन्दी,दुष्प्रचार र चरित्र हत्या गर्ने आकांक्षीको उम्मेदवारी तत्काल खारेज हुने र अनुशासनको कारबाही अघि बढाइनेछ ।
रास्वपाले कुनै पनि कारबाही प्रमाण र छानबिनका आधारमा मात्र गरिने स्पष्ट गर्दै यस व्यवस्थाको उद्देश्य उम्मेदवार छनोट प्रक्रियालाई स्वच्छ र विश्वासयोग्य बनाउनु रहेको जनाएको छ ।

