मधेश केन्द्रित दलका नेतासंग प्रधानमन्त्री शाहले भने- ‘मलाई संघीयता विरोधी भनेर सपनामा पनि नसोच्नुहोला’
काठमाडौं,१५ साउन । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आफू संघीयताविरोधी नभएको बताएका छन् ।

मधेशकेन्द्रित दलसँगको छलफलमा क्रममा सिंहदबारमा बालेनले संघीयतालाई विरोधी भनेर गलत हल्ला फैलाएको बताएको राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोले जानकारी दिए ।
‘संघीयता विरोधी भनेर सपनामा पनि नसोच्नुहोला । संघीयतालाई बलियो बनाउने हो । संरचनामा परिवर्तन ल्याउन कुरा थियो तर सन्देश गलत गयो । त्यसलाई सुधार्नुपर्छ । तर म संघीयता विरोधी होइन,’ प्रधानमन्त्रीको भनाइ उद्दृत गर्दै महतोले भने, ‘संघीयतामा प्राप्त अधिकार प्रयोग गर्नुपर्छ । मेयर हुँदा मैले पनि आफ्नो अधिकार प्रयोग गरेको थिएँ । तपाईंहरू ढुक्क हुनुस् संघीयतामाथि कुनै खतरा हुँदैन ।’
महतोसहितका नेताले चितवन महाधिवेशनबाटै रास्वापाल आफूलाई संघीयताविरोधी पार्टीमा रुपमा व्याख्या गरेको भन्ने प्रश्नमा बालेनले यस्तो बताएका हुन् ।
अध्यक्ष महतोले विगतमा मधेश र विभिन्न पक्षसँग भएका सम्झौताहरू कार्यान्वयन नभई रद्दीको टोकरीमा फालिएको उल्लेख गर्दै यसपटक कुनै पनि धोकाधडी नहोस् र सम्झौताको पूर्ण कार्यान्वयन होस् भन्ने कुरा जोडदार रूपमा उठाइएको बताए।
धोकाधडी नगर्नुहोला भन्यौँ। सम्झौता भएपछि कार्यान्वयन गर्नुहोला भन्यौँ,’ महतोले भने ।

