बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति आज पनि नेपाली राजनीतिको मार्गदर्शनको आधार : देउवा



काठमाडौं,साउन ६ । नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता शेरबहादुर देउवाले जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लोकतन्त्र, संविधान, राष्ट्रियता र समाजवादको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिने बताएका छन्। उनले बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति आज पनि नेपालको राजनीतिक मार्गदर्शनको आधार रहेको उल्लेख गरेका छन्।

देउवाले बिपी कोइरालाको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्न पाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो सौभाग्य भएको उल्लेख गर्दै आफूले बिपीबाट प्राप्त गरेको लोकतान्त्रिक संस्कार, जिम्मेवारीबोध र राष्ट्रिय हितप्रतिको प्रतिबद्धतालाई राजनीतिक जीवनभर मार्गदर्शक बनाएको बताएका छन्।

विज्ञप्तिमा नेपाली कांग्रेसले विगत आठ दशकमा निरंकुशताविरुद्धको संघर्ष, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड–१९ महामारीका बेला जनताको सेवामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ। ती अनुभवले वर्तमान चुनौतीको सामना गर्न पार्टीलाई थप सक्षम बनाएको उनको भनाइ छ।

देउवाले लोकतन्त्र कमजोर हुँदा राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता समेत कमजोर हुने चेतावनी दिँदै लोकतन्त्रको रक्षा गर्नु नै राष्ट्रको रक्षा गर्नु भएको बताएका छन्। पछिल्लो राजनीतिक घटनाक्रमलाई संकेत गर्दै उनले सरकार प्रतिपक्षप्रति असहिष्णु बन्दै गएको, स्वतन्त्र न्यायपालिका, संवैधानिक निकाय तथा लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको आरोप पनि लगाएका छन्।

उनले प्रतिपक्षको भूमिका केवल सरकारको विरोधमा सीमित नरहने स्पष्ट पार्दै लोकतन्त्र, संविधान, राष्ट्रियता र नागरिक सुरक्षाको संरक्षणका लागि नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
देउवाले बिपीको राष्ट्रिय मेलमिलापको नीतिलाई वर्तमान चुनौती समाधान गर्ने जीवित मार्गदर्शनका रूपमा व्याख्या गर्दै राष्ट्रिय स्वाभिमान, आर्थिक समृद्धि, सामाजिक न्याय, समानता, समावेशिता र अवसरको समान पहुँच नेपाली कांग्रेसका आधारभूत मूल्य रहेको बताएका छन्।

हाल स्वास्थ्य उपचारका सिलसिलामा विदेशमा रहे पनि आफ्नो सोच र चिन्ता निरन्तर देश र जनतामै केन्द्रित रहेको उल्लेख गर्दै देउवाले स्वदेश फर्किएपछि लोकतन्त्र, संविधान र राष्ट्रिय एकताको पक्षमा अझ सक्रिय रूपमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नागरिकलाई लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको पक्षमा एकजुट हुन आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्