कर प्रणालीलाई थप पारदर्शी बनाउन ‘लखपति योजना’ सञ्चालन गर्ने अर्थमन्त्री वाग्लेको घोषणा



काठमाडौं,६ साउन । सरकारले कर प्रणालीलाई थप पारदर्शी,व्यवस्थित र उपभोक्तामैत्री बनाउन सक्कली बिल लिने उपभोक्तालाई नगद पुरस्कार प्रदान गर्ने ‘लखपति योजना’ सञ्चालन गर्ने भएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा आबद्ध व्यवसायबाट एक सय रुपैयाँभन्दा बढीको खरिद गरी सक्कली बिल लिने उपभोक्तालाई योजनामा सहभागी गराइने बताएका छन्।

उनका अनुसार उपभोक्ताले नगद वा अनलाइन माध्यमबाट भुक्तानी गरी प्राप्त गरेको सक्कली बिलको नम्बर नै पुरस्कार छनोटको आधार हुनेछ। सरकारले अब हरेक दिन एकजना नेपालीलाई ‘लखपति’ बनाउने तथा प्रत्येक महिनामा दुई जनालाई बम्पर पुरस्कारस्वरूप १०–१० लाख रुपैयाँ प्रदान गर्ने तयारी गरेको छ।

योजनामा सहभागी हुन उपभोक्ताले कम्तीमा १०० रुपैयाँभन्दा बढीको सामान खरिद वा होटल तथा रेस्टुरेन्टमा सेवा उपभोग गर्दा अनिवार्य रूपमा सक्कली बिल लिनुपर्नेछ। बिल नम्बरका आधारमा विजेता छनोट गरिने व्यवस्था गरिने अर्थमन्त्री वाग्लेले उल्लेख गरेका छन्।

हालका लागि पुरस्कार घोषणा प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन अर्थात् पाक्षिकरूपमा गरिने जनाइएको छ।

यस योजनाले उपभोक्तामा सक्कली बिल लिने बानीको विकास हुनुका साथै कर छली नियन्त्रण, राजस्व संकलन वृद्धि र औपचारिक अर्थतन्त्रको विस्तारमा समेत सहयोग पुग्ने अर्थमन्त्री वाग्लेको विश्वास छ। file foto

प्रतिक्रिया दिनुहोस्