सोलुदुधकुण्ड कार्यसम्पादन मूल्यांकनमा फेरि उत्कृष्ट : कोशी प्रदेशको पहिलो,देशभरको चौथो



सोलुखुम्बु,१ फागुन । जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्ड कार्य सम्पादन मूल्यांकनमा देशभरको चौथो र कोशी प्रदेशकै पहिलो स्थानीय तह बन्न सफल भएको छ ।

नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पा प्रमुख रहेको सो नगरपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/८२ का लागि गरेको देशभरका स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा देशभरको चौथो र कोशी प्रदेशको पहिलो स्थानीय तह बन्न सफल भएको हो।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ को दफा ७ बमोजिम १७ वटा सूचकका आधारमा गर्ने कार्यसम्पादन मूल्यांकनमा देशभरबाट ८३.८४ नम्बर ल्याएर अर्घाखाँचीको पाणिनी गाउँपालिका प्रथम,८१.९८ नम्बर ल्याएर गुल्मीको मालिका गाउँपालिका,८०.५२ नम्बर ल्याएर गुल्मीको धुर्कोट गाउँपालिका तेस्रो र ७८.५० अङ्क ल्याएर सोलुदुधकुण्ड नगरपालिकाले चौथो स्थान प्राप्त गरेका छन् ।

उता जिल्लामा भने सोलुदुधकुण्ड पछि थुलुङ दुधकोशीले उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको छ । थुलुङ दुधकुण्ड गाउँपालिकाले ६३.७९ अंक, माप्य दुधकोशी गाउँपालिकाले ६३.२६ अंक, खुम्बु पासाङल्हामु गाउँपालिकाले ६२.३६ अंक प्राप्त गरेको आयोगको प्रतिबेदनमा उल्लेख छ।

यसैगरी महाकुलुङ गाउँपालिकाले ५७.८१, लिखु पिके गाउँपालिकाले ५४.४३, नेचासल्यान गाउँपालिकाले ५१.६३ र सोताङ गाउँपालिकाले ५१.३४ अंक प्राप्त गरेका छन्।

यसैबीच, सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गरिएको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशकै उत्कृष्ट स्थानीय तह घोषित भएको सुखद् समाचारले अत्यन्त गौरवान्वित बनाएको प्रतिक्रिया दिंदै यस उपलब्धिले नगरपालिकाको सुशासन, पारदर्शिता र उत्तरदायित्वप्रति देखाएको दृढ प्रतिबद्धतालाई थप पुष्टि गरेको बताएका छन् ।

आगामी दिनहरूमा पनि यही उत्साह, एकता र समर्पणका साथ नगरको समृद्धि र दिगो विकासतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नगरप्रमुख शेर्पाद्वारा शुक्रबार जारी प्रेस बिज्ञप्तिमा भनिएको छ,-‘सोलुदुधकुण्ड नगरपालिकाले विगतदेखि नै कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गर्दै, बेरुजु शून्य कायम राख्दै, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्दै तथा गुणस्तरीय विकास-निर्माणका कार्यहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको छ।’

यस महत्वपूर्ण सफलताका पछाडि सकारात्मक सोचका धनी आम नगरवासी, जिम्मेवार जनप्रतिनिधि तथा मेहनती र इमान्दार कर्मचारीहरूको साझा प्रयास, समर्पण र निरन्तर योगदान रहेको छ। सबैको सहकार्य, एकता र अटल प्रतिबद्धताकै परिणामस्वरूप यो गौरवपूर्ण उपलब्धि सम्भव भएको उल्लेख गर्दै नगर प्रमुख शेर्पाद्वारा जारी बिज्ञप्तिमा यस ऐतिहासिक सफलताका लागि सम्पूर्ण नगरवासी, जनप्रतिनिधि तथा कर्मचारीहरूमा हार्दिक बधाई, धन्यवाद तथा कृतज्ञता व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्