नेपालभाषाका लघुकथा लेखकहरुले मनाए साताैं वार्षिकोत्सब 



काठमाडौं, २५ माघ । सामाजिक सञ्जाल फेसबुकमार्फत सक्रिय  नेपालभाषा साहित्यिक अभियान चिबाखं साहित्यको सातौँ वर्षप्रवेशको अवसरमा पाटन संग्रहालय अवलोकन कार्यक्रमसँगै ‘ख्वाःपौ’ (मुख पत्र) सार्वजनिक गरिएको छ।

यस संस्थाका सदस्यहरूमा साहित्यकारहरु  ध्रुव मधिकर्मी, केदार सितु, नरेश अमात्य, विमल ताम्राकार, सुरेन्द्रलाल भुजू, रिता महर्जन र दिव्या बज्राचार्यले संयुक्त रूपमा उक्त  मुखपत्र   सार्वजनिक गर्नुभएको हो। मुख पत्रमा वर्षभरि आयोजित प्रतियोगितामा पुरस्कृत लघुकथा, साताव्यापी रूपमा सञ्चालन गरिएका लघुकथाका समीक्षाहरू तथा लघुकथासम्बन्धी प्रकाशित केही अभिलेखहरू समेटिएका छन्।

स्मारिका सार्वजनिक कार्यक्रममा बोल्दै कथाकार ध्रुव मधिकर्मीले लघुकथा लेखन अहिले निकै सक्रिय रहेको उल्लेख गर्दै अब त्यसमा विविधता र स्तरीयता आवश्यक भएको बताउनुभयो। समीक्षक डा पुष्पराज राजकर्णिकारले यस्ता प्रयासहरूले लघुकथाको विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो। अर्का समीक्षक पूर्ण ताम्राकारले स्रष्टाहरूले आफ्ना सिर्जनालाई सशक्त बनाउन अरूका रचना पनि पढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

संस्थाका संयोजक नरेश अमात्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा हरिगोविन्द भोमी, कविन्द्रलाल अमात्य, मचाकाजी महर्जन, तेज हमाल, रामेश श्रेष्ठ र विष्णुकेसरी ताम्राकारले समसामयिक विषयवस्तुमा आधारित लघुकथा वाचन गर्नुभएको थियो।

नेपालभाषा लघुकथाको प्रवर्द्धन र अभिलेखीकरणमा निरन्तर सक्रिय चिबाखं साहित्यले यस मुख पत्र मार्फत समकालीन साहित्यिक गतिविधिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्