सोलुखुम्बुमा कांग्रेसबाट कार्कीले प्रतिस्पर्धा गर्ने



सोलुखुम्बु,५ माघ।सोलुखुम्बुमा नेपाली कांग्रेसको तर्फबाट यसपटक प्रकाशसिंह कार्कीले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपाली कांग्रेसको संसदीय बोर्डले सोमबार कार्कीलाई सोलुखुम्बुमा उम्मेदवारका रूपमा मनोनयन गरेसंगै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्बाचनमा उनी प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा खडा भएका हुन्।उनको प्रतिस्पर्धा नेपाली कम्युनिस्ट पार्टीका अशिम राई,नेकपा एमालेकि कल्पना राई र श्रम संस्कृति पार्टीका बियस राईसंग हुनेछ।

नेपाली कांग्रेस सोलुले दर्जन भन्दा बढी नेताहरुको नाम उम्मेदवारका लागि सिफारिस गरेको थियो।सिफारिस हुनेहरुमा पूर्बमन्त्री एबम् कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति सदस्य बलबहादुर केसी,केन्द्रीय सदस्य एबम् पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पा र पूर्ब सभापति बिनोद बस्नेत लगायत थिए।

सिफारिस भएका मध्ये केसीले आफू निर्बाचन नलड्ने घोषणा गर्दै शनिबार जिल्लाका पार्टी नेताहरुका बीचमा पार्टीका उम्मेदवारलाई जिताउन निर्बाचनमा खटिने प्रतिबद्धता व्यक्त गरेका थिए।अन्य दुई प्रतिस्पर्धी शेर्पा र बस्नेतको दावी अन्तिमसम्म कायम रहेपनी पार्टीले कार्कीलाई उम्मेदवारका रूपमा छनौट गरेको हो।

कार्की नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्। ब्यबसायी समेत रहेका उनीसँग नेपाल उद्योग बाणिज्य संघको केन्द्रीय कार्यकारी सदस्य समेत रहेको अनुभव छ । जिल्लामा गुटगत विवाद उग्र हुंदा उनी पार्टी एक ढिक्का भएर जानुपर्ने भन्दै आफुलाई मध्यमार्गी धारबाट उभ्याउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्