उम्मेदवारी चयनमा असन्तुष्टि जनाउँदै योगेशले पार्टी कार्यालयमा दर्ता गराए ‘नोट अफ डिसेन्ट’
काठमाडौं,४ माघ । प्रत्यक्षतर्फको टिकट वितरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको आरोप लगाउँदै नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालयमा ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन्।

शनिबार बसेको सचिवालय बैठकले देशभरका १४० निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएपछि भट्टराईले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेख्ने बताएका थिए। आइतबार पार्टी कार्यालय पुगेर उनले औपचारिक रूपमा उक्त नोट दर्ता गराएको एमाले कार्यालय स्रोतले जनाएको छ।
नोट अफ डिसेन्टमा टिकट वितरणमा स्पष्ट मापदण्ड नअपनाइएको, प्रतिनिधिसभा उम्मेदवार छनोटमा प्रतिस्पर्धाका क्रममा पक्षधरता देखिएको तथा कार्यकर्तामाथि अन्याय भएको उल्लेख गरिएको छ। भट्टराईले यसअघि निर्वाचन जितेका उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने र स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधिको कार्यकाल बाँकी रहँदै प्रतिनिधिसभामा उम्मेदवार बनाउने अभ्यास रोक्नुपर्ने धारणा राखेका छन्।
त्यस्तै, प्रतिनिधिसभा उम्मेदवार चयन गर्दा पार्टी एकतालाई मुख्य आधार बनाउनुपर्ने उनको जोड छ। महाधिवेशनमा प्रतिस्पर्धा गरेको वा फरक समूहमा आबद्ध भएको आधारमा हेर्दा एकताको भावना कमजोर हुने भन्दै उनले चेतावनी दिएका छन्।
नेकपा (एमाले) को ११औँ महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट चुनाव लडेका धेरै नेताहरू प्रतिनिधिसभा सदस्यको टिकटबाट वञ्चित भएपछि भट्टराई त्यसको विरोधमा उभिएका हुन्। १४१ क्षेत्रको उम्मेदवार टुंगो लाग्दा पोखरेल समूहबाट केवल दुई जनाले मात्रै टिकट पाएका छन्।
यसैबीच, भट्टराईले सामाजिक सञ्जालमार्फत समर्थकहरूलाई विचलित नहुन आग्रह गरेका छन्। उनले लेखेका छन्, “निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारलाई विजयी बनाउन आ–आफ्नो ठाउँबाट सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ।”
अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल, महासचिवमा लडेका सुरेन्द्र पाण्डे, उपाध्यक्षमा प्रतिस्पर्धा गरेका परशुराम मेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालले टिकट पाएनन्। उपाध्यक्षमा निर्वाचित गोकर्ण विष्टले मात्र पदाधिकारीमध्ये टिकट पाएका छन्।
उपमहासचिवमा निर्वाचित योगेश भट्टराईको टिकट ‘होल्ड’ मा राखिएको छ भने उपमहासचिवका प्रतिस्पर्धी बैजनाथ चौधरीले पनि टिकट पाएनन्। सचिव पदका प्रतिस्पर्धी रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेल उम्मेदवार सूचीमा परेनन्।
सचिव पदका प्रतिस्पर्धी विनोद ढकाल र गोकुल बाँस्कोटाको टिकटसमेत होल्डमा राखिएको छ। सचिव पदका उम्मेदवार ठाकुर गैरेको निर्वाचन क्षेत्र पाल्पा–२ बाट उपाध्यक्ष विष्णु पौडेलले टिकट पाएका छन्।
त्यसैगरी पोखरेल समूहका नेताहरू गणेश पहाडी, झपट रावल, महेश बस्नेत (इलाम), जय राई, कृष्ण राई, अमिरबाबु गुरुङ, मनबहादुर गुरुङ, रत्न गौतम, नवराज सिलवा र बालकृष्ण सुवेदीले पनि टिकट पाएनन्। पोखरेल समूहबाट केन्द्रीय सदस्यको निर्वाचन लडेका भागीरथ सापकोटाले भने नवलपुर–१ बाट टिकट पाएका छन्।

