बागलुङमा बेवारिसे अवस्थामा भरुवा बन्दुकहरू फेला,काभ्रेबाट एकजना पक्राउ
काठमाडौँ,२ माघ । प्रहरीले काभ्रेपलाञ्चोक र बागलुङका विभिन्न स्थानबाट ९ थान भरुवा बन्दुक बरामद गरेको छ । हतियारसहित काभ्रेबाट एक जना पक्राउ परेका छन् भने बागलुङमा बेवारिसे अवस्थामा बन्दुकहरू फेला परेको छ ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-७ नौबिसेबाट एक थान भरुवा बन्दुकसहित ३२ वर्षीय सुजन तामाङ पक्राउ परेका छन् । पाँचखाल नगरपालिका-१ घर भई हाल कुन्तावेशी बस्ने तामाङलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी हिगुवापाटीबाट खटिएको टोलीले बागमती प्रदेश ०३-००७ प ९२९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनको साथबाट बन्दुक बरामद गरेको थियो ।
यस्तै, बागलुङका तीन छुट्टाछुट्टै स्थानबाट प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको छ । गलकोट नगरपालिका-८ जोईपहरास्थित सामुदायिक जंगलबाट तीन थान बन्दुक बरामद भएको छ । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय गलकोट र प्रहरी चौकी हटियाको टोलीले ती हतियार फेला पारेको हो ।
यसैगरी ताराखोला गाउँपालिका-४ नागबेलीस्थित खोलाको किनारबाट पनि चार थान भरुवा बन्दुक बरामद भएको छ । इलाका प्रहरी कार्यालय ताराखोला र गलकोटबाट खटिएको प्रहरी टोलीले ती बन्दुक बरामद गरेको हो । उता तमानखोला गाउँपालिका-६ स्थित नर्जाखानी जंगलबाट पनि एक थान भरुवा बन्दुक फेला परेको छ ।
बरामद गरिएका हतियार र पक्राउ परेका व्यक्तिका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

