बिशेष अधिबेशन औपचारिक रुपमै आव्हान गरिएपछि कांग्रेसले बोलायो कार्य सम्पादन समिति बैठक



काठमाडौँ,१७ पौष । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले औपचारिक रूपमै विशेष महाधिवेशन आह्वान गरेका छन् । बिहीबार महामन्त्रीद्वय थापा र शर्माले सूचना जारी गरी विशेष महाधिवेशन आह्वान गरेका हुन् ।

साथै सूचनामा पुस २६-२८ मम गर्ने भनिएको नियमित महाधिवेशन पनि स्थगन भएको जनाइएको छ ।संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७-२९ गते विशेष महाधिवेशन गर्नेगरी महामन्त्रीद्वयले सूचना जारी गरेका छन् ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत स्थगित गरिएको जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा आइपुग्दा समग्रमा ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भएको पनि महामन्त्रीद्वयले जानकारी दिएका छन् । खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा जिल्ला कार्यसमितिबाट नवीकरण प्रक्रिया टुंगिएपछि कुल नवीकरण संख्या करिब ६ लाखभन्दा बढी पुग्ने अनुमान छ । यस अवधिमा १ लाख ९५ हजार ७ सय ३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भएको पनि उनीहरूले जनाएका छन् ।

महामन्त्रीद्वयले बिशेष महाधिवेशन आव्हान गरेपछि भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाईएको कांग्रेस मुख्य सचिब कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्