नेपाली कांग्रेसको नियमित महाधिवेशन स्थगित



ललितपुर,१७ पौष । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले मंसिर १५ गते तय गरेको नियमित महाधिवेशन स्थगित गरिएको छ।

महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा नियमित महाधिवेशनको कार्यतालिका परिमार्जन नहुनु र अन्य कार्यहरूमा ढिलाइ हुनुले स्थगन हुन पुगेको जनाएको छ।

अहिलेसम्म ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यताको नवीकरण पूरा भइसकेको छ भने बाँकी जिल्लामा प्रक्रिया पूरा भएपछि कुल सङ्ख्या ६ लाखभन्दा बढी पुग्ने अपेक्षा गरिएको छ। यस अवधिमा १ लाख ९५ हजार ७ सय ३७ नयाँ सदस्यता इन्ट्री पनि भएको छ।

‘५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी माग गरेका विशेष महाधिवेशनको विकल्पका रूपमा नियमित महाधिवेशन नै प्राथमिकता थियो। तर नियमित महाधिवेशन समयमै सम्पन्न नहुने भएपछि विशेष महाधिवेशन अघि बढाउने सम्भावना पनि खुला रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा पार्टी विधानको दफा १७(२) अनुसार विशेष महाधिवेशनसम्बन्धी सबै कार्यहरू सर्वसम्मतिमा अघि बढाउने तयारी भइरहेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्