नेपाल घुम्न आएका विदेशी पर्यटकको डिजिटल ट्रयाकिङ सुरु
काठमाडौं,१७ पौष । अध्यागमन विभागले नेपाल घुम्न आएका विदेशी पर्यटकको डिजिटल ट्रयाकिङ सुरु गरेको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन विभागले बिकाश गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’को शुभारम्भ गरेका हुन् ।

भृकुटीमण्डप स्थित पुलिस क्लबमा आयोजित कार्यक्रममा अर्यालले सो प्रणालीको उद्घाटन गरे । ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’को शुभारम्भगर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला सबैको यथोचित भूमिकाको अपेक्षा गरिएको बताए ।
विभिन्न भिसामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुन विपरीत अरु नै गतिविधिमा संलग्न हुन नदिन निगरानी,नियमन र व्यवस्थापन तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको
विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा एउटा भिसा प्रयोजनमा भित्रिएका विदेशी अरु नै गतिविधिमा संलग्न हुने गरेको,ओभर स्टे, अन्य फौजदारी कसुरलगायतमा सक्रिय हुने गरेकोले कारबाहीको दायरामा ल्याउन देखि यात्रामा रहेकालाई सहजीकरण गर्न एकीकृत संयन्त्र बिकास गर्न लागिएको बताए ।
नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा,सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विभागले यो प्रणाली विकास गरेको उनको भनाइ छ ।
यसबाट नेपाल भित्रिएका विदेशी नागरिक बसेको,उनीहरु कुन ठाउँमा रहेको, भिसा कानुन अनुसार भएनभएकोलगायत जानकारी प्रणाालीमा आवद्ध संस्थाले विभागलाई आवद्ध प्रणाालीबाटै दिनुपर्ने छ ।
कार्यक्रममा सरोकारवालाहरुले बिभागले सुरु गरेको कामको प्रशंसा गर्दै आफ्नो तर्फबाट कार्यान्वयनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
विदेशी नागरिक तथा पर्यटकहरूको सुरक्षा र आवश्यक परेको बेलामा राज्यले दिने सुविधा तथा उद्धारको सहजता,नेपालमा भिसा विपरीत वा प्रचलित कानुन, सामाजिक मूल्य, राजनीतिक वा आर्थिक चाखविपरीत गतिविधि भए तुरुन्तै पहिचान गर्न सहजतालगायतमा यसबाट सहज हुने जनाइएको छ ।

