नेपाल प्रहरीमा इन्स्पेक्टर र असइमा खुल्यो भर्ना



काठमाडौँ,२६ मंसिर । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर)र प्रहरी सहायक निरीक्षक (असई)मा नयाँ भर्ना खुलेको छ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन आह्वान गरिएको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त दिन सकिनेछ भने असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त दिन सकिनेछ।दरखास्त फाराम अनलाइनबाटै लिन सकिनेछ।

दरखास्त दस्तुर इन्सपेक्टरतर्फ १ हजार २ सय र समावेशीतर्फ प्रत्येक समूहका लागि थप २४० रुपैयाँ लाग्नेछ।असईतर्फ ५०० रुपैयाँ र एकभन्दा बढी समूहमा आवेदन दिँदा प्रत्येक समूहका लागि थप १०० रुपैयाँ शुल्क लाग्ने जनाइएको छ।

सूचनाअनुसार इन्सपेक्टरका लागि आवेदन दिने अन्तिम मितिसम्म २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ भने असईतर्फ १८ वर्ष पूरा भई २४ वर्ष नकटेको हुनुपर्नेछ।

इन्सपेक्टरका लागि न्यूनतम शैक्षिक योग्यता कम्तीमा स्नातक वा सोसरह उत्तीर्ण भएको हुनुपर्नेछ भने असईका लागि प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्