राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा ‘विशिष्ट साधक सम्मान २०८२’ सम्पन्न
काठमाडौं,६ मंसिर । श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले कला क्षेत्रमा विशिष्ट योगदान दिनुहुने तीन अग्रज-श्रष्टाहरुलाई ‘विशिष्ट साधक सम्मान २०८२’ ले सम्मान गरेको छ ।

ललितकलाका विबिध क्षेत्रमा लामो समयदेखि समर्पित रही नेपाली कला र गीत-संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुने नेपालकै पहिलो नृत्य निर्देशक एवम् प्रसिद्ध कलाकार भैरब बहादुर थापा,बरिष्ट गायिका एवम् साहित्यकार चन्द्रकला शाह र बरिष्ट लोकगायक एवम् शब्द सङ्कलक रेशम थापालाई जनही रु.५ हजार पाँच सय पचपन्न रुपैयाँ नगद,दोसल्ला र प्रसंसा-पत्रसहित सम्मान गरिएको थियो ।
यही मङ्सिर ६ गते सँस्थाका पदाधिकारीहरुले श्रष्टाकै निवासमा छुट्टाछुट्टै पुगि परिवारका सदस्यसहितको उपस्थितिमा सम्मान प्रदान गरेका थिए। सम्मानित श्रष्टाहरुले आफूलाई आफ्नै निवासमा आई पारिवारिक माहोलमा सम्मान प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो । साथै,संस्थाले नेपाली कला एवम् कलाकारको हितमा योगदान दिने आफ्नो उद्देश्य पुरा गर्न सकोस् भन्दै शुभकामना प्रदान गर्नुभएको थियो। ९३ बर्षीय प्रशिद्ध नृत्य प्रशिक्षक थापाका सुपुत्र,प्रसिद्ध सङ्गीत संयोजक महाराज थापाले उहाँका पिताले देश-विदेशमा नेपाली नृत्यको श्रीवृद्धिमा पुर्याउनु भएको योगदानको विषयमा आधारित वृत्तचित्र समेत प्रदर्शन गर्नुभएको थियो ।

कार्यक्रम संस्थाका सल्लाहकार बरिष्ट गीतकार रमेश दहाल,वरिष्ठ संगीतकार एवं गायक कमल अधिकारी,कार्य समिति अध्यक्ष नारायण बहादुर थापा,बरिष्ठ उपाध्यक्ष दिपक शर्मा,उपाध्यक्ष सुजाता केसी,महासचिव सनम कठायत,सचिव रिता केसी,कोषाध्यक्ष प्रतिक्षा काफ्ले,सदस्यहरु बिरेन्द्र भाट “बिपिन”,मनोज परियार,डेभिड शंकर, सुभाष तिम्सिना,कोपिला सिवाकोटी,प्रमोद डिजी र बिक्रान्त आचार्यको उपस्थितिमा सम्पन्न गरिएको थियो। साथै, श्रष्टा सम्मानमा परिवारका सदस्यहरु उपस्थिति थियो।
यस सम्मानको पहिलो संस्करण २०८० मा विशिष्ट साधक सम्मानबाट खड्ग गर्बुजा,चैत्यदेवी र शशी बिक्रम शाह सम्मानित हुनुभएको थियो भने २०८१ मा भैरव रिसाल, माणिकरत्न स्थापित र प्रदिप कुमार उपाध्याय सम्मानित हुनुभएको थियो।

