हलेंसीको पहिचान र भविष्यको सम्भावना बोकेको ‘ढुङ्गे बगैंचा’



    • सुजन चेल्सी शर्मा

      हेर्दा कुनै दक्ष कालीगढको हातबाट बनेको कलात्मक मूर्ति जस्तो लाग्ने — तर वास्तवमा प्रकृतिले आफैं कोरेको अद्वितीय उपहार हो, ‘ढुङ्गे बगैंचा’।

हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानको ककनीडाँडास्थित करिब १ सय ६० रोपनी क्षेत्रफलमा फैलिएको यो प्राकृतिक स्थललाई स्थानीय भाषामा किरात चाम्लिङमा ‘बुङालुङ’ भनिन्छ। हाल यसलाई धेरैले ‘रक गार्डेन’ नामले पनि चिन्छन्।

किंवदन्ती र आस्था

स्थानीय किंवदन्ती अनुसार, भस्मासुर राक्षसले महादेवलाई लखेट्दा महादेवको पाइला ककनीडाँडामा पर्नासाथ यहाँका ढुङ्गाहरुले अद्भुत कलात्मक आकार पाएका थिए। यही कारण यो स्थान स्थानीय मात्र होइन, धार्मिक यात्रुहरूको पनि आस्थाको केन्द्र बनेको छ।

यात्रा र पहुँच

प्रसिद्ध त्रिधार्मिक स्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदल यात्रा पार गरेपछि यो स्थल पुगिन्छ। बाटैभरि हरियाली, ग्रामीण जीवनका झलक र चिसो हावाले यात्रालाई रमाइलो बनाइदिन्छ। बालबालिका, युवा र वृद्ध सबैका लागि यहाँ पुग्ने अनुभव अविस्मरणीय हुन्छ।

वर्तमान संरचना र सौन्दर्य

पार्कमा छिर्नासाथ नै विभिन्न आकारका ढुङ्गाहरु, लोकल काठका कलाकृति, परम्परागत सांस्कृतिक चिन्ह र फोटो खिच्नका लागि तयार गरिएको काठको फ्रेमहरूले ध्यान खिच्छन्।
यसबाहेक, फलैंचा, ढुङ्गाको गेट, सिँढी, घेराबार जस्ता संरचना बनाइसकिएका छन्।
पार्कभित्र बालबालिकाका लागि चिल्ड्रेन पार्क पनि छ, जहाँ साना–ठूला सबै रमाउन सक्छन्।

विकास र भविष्य

हाल पार्क अझै निर्माणाधीन अवस्थामा छ। नगरपालिकाले प्राकृतिक बनावटलाई नबिगारी थप संरचना जस्तै—रङ्गीन ढुङ्गा सजावट, फूलबारी, खानेपानी, चर्पी, टिकट काउन्टर, तथा भित्रै विभिन्न खेल–मनोरञ्जनका सुविधा निर्माण गर्ने योजना बनाएको छ।
यी सबै पूरा भएपछि ‘ढुङ्गे बगैंचा’ केवल स्थानीयको मात्र नभई पर्यटकिय हब बन्नेमा कुनै शंका छैन।

एक नजरमा सुझाव

ढुङ्गैढुङ्गाको बगैंचालाई अझ आकर्षक बनाउन-
• रङ्गीन सजावट र फूल रोपाइँ
• स्वच्छता र फोहोर व्यवस्थापन
• नाइट लाइट र व्यू–पोइन्ट
• स्थानीय संस्कृति झल्किने अतिरिक्त संरचना

निष्कर्ष
‘बुङालुङ’ वा ढुङ्गाको बगैंचा केवल एउटा प्राकृतिक स्थल मात्र होइन, यो हलेंसीको पहिचान र भविष्यको सम्भावना हो।
म त पुगिसकें — अब पालो तपाईंको!

प्रतिक्रिया दिनुहोस्